Logo

सप्तरी क्षेत्र नं.२ आफुलाई छाडीदिन उपेन्द्र र ठाकुरलाई सिके राउतको आग्रह



काठमाडौं, साउन २२ । सिके राउत नेतृत्वको जनमत पार्टी प्रतिनिधिसभा निर्वाचनमा मधेश केन्द्रीत दल लोसपा र जसपासँगको सहकार्यमा अगाडी बढ्ने तयारीमा लागेको छ । राजनीतिमा काम अनुसार समर्थन, विरोध र सहकार्य अपरिहार्य हुने भन्दै जनमत पार्टीले यस्तो तयारी थालेको हो ।

सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको रुपमा उम्मेद्वारी दिने घोषणा गरिसकेका राउतले जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटघाट गरेका छन् ।

मोरङ र सुनसरी पछि सप्तरीबाट निर्वाचन लड्दै आएका जसपाका अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र समेत रहेको सप्तरी २ मा अध्यक्ष राउतले पनि उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।

यहि विषयलाई लिएर जनमत पार्टीका अध्यक्ष सिके राउत र महासचिव चन्दन सिंहले जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुरसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा राउतले अध्यक्ष यादवलाई अर्को कुनै निर्वाचन क्षेत्र रोजेर आफुलाई सहयोग गर्न आग्रह गरेका महासचिव सिंहले बताए ।

‘दुई अध्यक्षसँगको भेटवार्ता एकदमै सकारात्मक भएको छ । उहाँहरूले अर्को क्षेत्र रोज्नुहुन्छ र डा राउतलाई सघाउनु हुन्छ भनेर हामी विश्वस्त छौं,’महासचिव सिंहले भन् ।

यस्तै, जनमत पार्टी नागरिक उन्मुक्ति पार्टी सहित अन्य दलहरूसँग पनि सहकार्यका लागि विभिन्न चरणमा संवाद जारी राखेको महासचिव सिंहले जानकारी दिए ।

२०७९ श्रावण १९ गते बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकमा अधिकांश सहभागीले अन्य दलसँग गठबन्धन, सहकार्य र समझदारीको लागि पहल गर्नुपर्ने धारणा राखेका थिए ।

कसैसँग कुनै सहकार्य नै नगरी जानु स्थानीय तह निर्वाचनमा झैं आत्मघाती हुन सक्ने जनमत पार्टीको ठहर छ । सप्तरी प्रतिनिधिसभा क्षेत्र नं २ राउतको जन्मथलो समेत हो ।



प्रतिक्रिया दिनुहोस्