Logo

चुनावमा मधेशवादी नेताहरुको फुटको असर के होला



काठमाडौं, २२ साउन । जब जब चुनाव आउँछ तब तब मधेशवादी नेताहरु चुनावी तालमेल गरेर जाने गरेका छन् । मधेश आन्दोलनपछि यो क्रम चलिरहेको छ ।

२०७४ को संसदको चुनावमा तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी तालमेल गरेर चुनाव लडे । उपेन्द्र यादव नेतृत्वको फोरमले प्रत्यक्षतर्फ संघीय संसदमा १० सिट जितेको थियो भने महन्थ ठाकुर नेतृत्वको राजपाले ११ सिट जितेको थियो । दुवै दलले समान ६ सिट समानुपातिकतर्फ जिते । ३३ सिट दुवै दलको पुगेको थियो ।

विगतमा एउटै दल बनाएका उपेन्द्र यादव र महन्थ ठाकुर अहिले फुटेका छन् । चुनावमा दुवै दल मिलेर जाने सम्भावना नभएको होइन । तर, व्यक्तिगत टकरावले फुटेका जसपा र लोसपा फेरि मिलेर चुनाव लड्ने भन्दा गठबन्धनमा ध्यान दिइरहेका छन् ।

जसपा सत्ता गठबन्धनमा छ । लोसपा गठबन्धनमा लाग्न प्रयासरत छ । यही अवस्था अगाडि बढेमा जसपा र लोसपा फरक फरक तरिकाले चुनाव लड्ने सम्भावना बढेको छ । यसो हुँदा मधेशवादी दलहरु फुटेर जाँदा चुनावमा नराम्रो धक्का खान सक्छन् ।

त्यसो त मधेशमा सीके राउत नेतृत्वको दलको उदय भएको छ । उनले चुनावी सहकार्यको प्रस्ताव उठाइरहेका छन् । विशेषगरी मधेशवादी दलहरुसँग उनले सहकार्यको प्रयास बढाएका हुन् । तर, राउतलाई सहभागी गराएर जाने सम्भावना कमजोर छ ।

रेशम चौधरीले पनि नयाँ दल गठन गरेका छन् । उनी विगतमा मधेशवादी दलबाट चुनाव लडेर जितेका थिए । चुनाव जिते पनि उनी प्रतिनिधि सभाको कार्यकालभर जेलमै राखिए । सपथका लागि मात्र एकपटक संसद जान पाए । चौधरीको जनाधार कैलालीमा बलियो देखिएको छ । तर, उनी मधेशवादी दलहरुसँग मिलेर चुनाव लड्ने अवस्था देखिदैन । यसकारण यो पटकको चुनावमा मधेशवादी दलहरु मिलेर नभई फुटेर चुनाव लड्ने अवस्था बनेको छ ।



प्रतिक्रिया दिनुहोस्