Logo

महन्थलाई फकाउँदै देउवा , के लोसपा सरकारमा जाला



काठमाडौं, २२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच पुरानो सम्बन्ध छ । दुवै नेताले काँग्रेसबाट राजनीति गरे । देउवा काँग्रेस नै बनिरहे । एकपटक काँग्रेस प्रजातान्त्रिक बनाए ।

महन्थ ठाकुर काँग्रेस छाडेर मधेश केन्द्रित दलको नेतृत्व गर्दै आएका छन् । उनले मधेशको मागलाई जोडतोडले उठाउने गरेका छन् । यसपटक देउवाले महन्थले उठाएको मागमध्ये नागरिकताको विषय सम्बोधन गरे । त्यसका लागि महन्थले देउवालाई धन्यवाद दिइसके ।

पछिल्लो समय ठाकुरसँग देउवाको भेटघाट बाक्लिएको छ । देउवा महन्थ नेतृत्वको लोसपालाई सरकारमा सामेल गराउन चाहिरहेका छन् । कम्तिमा दुई मन्त्रालय दिनेमा देउवा राजी छन् । उनी महन्थलाई फकाउँदै छन् ।

सरकारमा जान पदका लागि मात्र नभई एजेन्डाका लागि पनि हुने भन्दै महन्थले केही माग देउवासम्म राखेका छन् । जसमा विभिन्न मुद्दा खेपिरहेका आफ्ना कार्यकर्तालाई छुटाउने पनि रहेको छ । उनले विशेषगरी रेशम चौधरीको विषय उठाउँदै आएका छन् ।

महन्थको राजनीतिक एजेन्डासँगै सत्ताको विषय पनि जोडिएको छ । लोसपाबाट को को सरकारमा जाने विषय पनि गम्भीर छ । अर्कोतर्फ, उपेन्द्र यादव पनि गठबन्धनमा सामेल छन् । महन्थ र उपेन्द्र एकैपटक गठबन्धनमा रहने हुन् या होइनन् भन्ने पनि गम्भीर बनेको छ । लोसपा सरकारमा जान सकारात्मक देखिन्छ । यसका लागि उसका केही मुद्दा र मन्त्रालयको विषयले कुरा अड्किएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्