Logo

नेपालबाट जाने ट्रान्जिट कार्गोमा भारतीय जीएसटी नलाग्ने



वीरगञ्ज, साउन २३ । नेपालबाट भारत हुँदै तेस्रो मुलुकतर्फ जाने ट्रान्जिट कार्गो ढुवानीमा अब भारतको वस्तु तथा सेवा कर (जीएसटी) नलाग्ने भएको छ ।

ढुवानी सेवाप्रदायकले अहिलेसम्म नेपाल भित्रिने कार्गोमा मात्र जीएसटी लिएका थिएनन् । नेपालबाट हुने निकासी र खाली कन्टेनर ढुवानीमा सेवाप्रदायकले भारतका कोलकाता, हल्दिया र विशाखापत्तनम् बन्दरगाहमा यस्तो कर असुल्दै आएका थिए ।

भारतले सन् २०१७ सेप्टेम्बरमै नेपाल आउने कार्गोमा जीएसटी नलिन सूचना गरेको थियो । नेपालबाट जाने कार्गोबारे सूचनाले केही नबोलेकाले सेवाप्रदायकले अहिलेसम्म जीएसटी लिएका हुन् ।

भारतबाट नेपाल निर्यात हुने मालसामान र सेवामा समेत यो कर लाग्दैन । भारतीय वित्त मन्त्रालय मातहतको राजस्व विभागले गत ३ अगस्तमा जारी गरेको सूचनामा नेपालका लागि जाने र फर्किने दुवै ट्रान्जिट कार्गोमा जीएसटी नलिन स्पष्ट पारेको हो । विभागको सूचनापछि अब ढुवानीकर्ताले नेपालबाट फिर्ता हुने सबै कन्टेनर ढुवानीमा जीएसटी लिने छैनन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो कर हटाउन भारतको सम्बद्ध निकायमा पहल गरेको थियो । मन्त्रालयका सचिव डा। गणेशप्रसाद पाण्डेयले गत महीना सम्बद्ध भारतीय अधिकारीसँग नेपालबाट तेस्रो मुलुक जाने ट्रान्जिट कार्गोमा लागिरहेको जीएसटी हटाउन आग्रह गरेका थिए ।

मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैंजूले यो व्यवस्थाले नेपालबाट तेस्रो मुलकतर्फ हुने निर्यातमा बढी लाभ हुने बताए । ‘अहिलेसम्म नेपाल भित्रिनेमा मात्रै जीएसटी नलिने गरेकोमा अब यताबाट जाने सबै कार्गोमा यस्तो कर लाग्दैन,’ सैंजूले भने ।

जीएसटी काउन्सिलले ५ वर्षअघि गरेको व्यवस्थामा नेपालबाट जाने कार्गोबारे स्पष्ट थिएन । यही छिद्रको फाइदा उठाउँदै निकासी र खाली कन्टेनर ढुवानीमा कर असुल्दै आएका थिए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्