Logo

पुर्वाधार विकास कार्यालय रौतहटका तत्कालिन निमित्त कार्यालय प्रमुखसहित ५ जना विरुद्ध मुद्दा



काठमाडौं, २३ साउन । पुर्वाधार विकास कार्यालय रौतहटका तत्कालिन निमित्त कार्यालय प्रमुखसहित ५ जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

सर्लाही रामनगर गाउँपालिका, वडा नं. ६ स्थित मलघट्टा चोकदेखि गोडैता नगरपालिकाको रामवन चोकसम्मको सडक स्तरोन्नति गर्ने कार्यको लागि सम्पूर्ण कामै नगरी रकम निकासा गरी हिनामिना गरेको उजुरीको आधारमा अख्तियारले अनुसन्धानको लागि उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा उक्त सडक निर्माणमा गैरकानूनी लाभ वा हानी पु¥याउने बदनियतले कार्य गर्ने पुर्वाधार विकास कार्यालय रौतहटका तत्कालिन निमित्त कार्यालय प्रमुख ई.शिवजी प्रसाद राय, ई.राम किशोर साह र सव–इन्जिनियर प्रेमचन्द्र झा, लेखा अधिकृत महम्मद दाउद र सडक मर्मत तथा ग्राभेल निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष राजकुमार महतोले इस्टिमेट अनुसार सडक नबनाई सम्पूर्ण रकम निकासा गरी हिनामिना गरेका पुष्टि भएको हो ।

अख्तियारले ई.शिवजी प्रसाद राय, ई.राम किशोर साह र सव–इन्जिनियर प्रेमचन्द्र झामाथि १६ लाख ५९ हजार बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना तोकिएको छ भने महम्मद दाउदले चुहावट गरेको ४ लाख ९७ हजारको दोब्बरले हुन आउने रकम ९ लाख ९५ हजार मागदाबी गरिएको छ । त्यस्तै, राजकुमार महतोमाथि १६ लाख ५९ हजार रुपैयाँ मागदाबी गरिएको छ ।

उनीहरुमाथि सजाय हुन मागदावी लिई अख्तियारले ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्