Logo

गठबन्धनबीच २०७४ मा जितेको सिट छाड्नुनपर्ने त्यो ‘भद्र सहमति’



काठमाडौं, २४ साउन । सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्दा २०७४ सालमा प्रत्यक्षतर्फ विजयी भएका दलले उक्त सिट छाड्नुनपर्ने भद्र सहमति पहिल्यै भएको बुझिएको छ । गठबन्धन बन्दा नै सहमति गरेर नेताहरु अगाडि बढेका हुन् ।

विश्वस्त स्रोतका अनुसार गठबन्धन बन्दा नै शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न साथ दिने प्रत्यक्षतर्फ विजयी उम्मेदवारहरुको सिट भविष्यमा सुरक्षित हुने गरी भद्र सहमति भएको थियो । सहमति अनुसार प्रत्यक्षतर्फ नेपाली काँग्रेसका २३, नेकपा माओवादी केन्द्रले जितेका ३६, नेकपा एमालेबाट फुटेर बनेको नेकपा एसका १२, जसपाका ११ र राष्ट्रिय जनमोर्चाका १ सिट सम्बन्धित दलले नै पाउनेछन् । प्रभावशाली नेताहरु २०७४ सालमा चुनाव हारेको भए जित्ने उम्मेदवारलाई अन्यत्र व्यवस्थापन गर्ने गरी सिट बाँडफाँट मिलाउने सहमति पनि बनेको थियो ।

विगतको भद्र सहमति पालना भएमा १६५ सिटमध्ये ८३ सिटमा यसअघि चुनाव जितेकै दलले सिट पाउनेछ । बाँकी ८२ सिट मात्र बाँडफाँट मिलाउनुपर्ने हुन्छ ।

नेपाली काँग्रेसले एक सय सिट दाबी गरेको छ । माओवादीले ५० सिट दाबी गरेको छ । दाबी गरेपनि उनीहरुले सबै सिट नपाउने निश्चित नै छ ।
देउवा प्रधानमन्त्री बन्नुअघि भएको भद्र सहमति, २०७४ को चुनावको आधार र स्थानीय चुनावको परिणामलाई आधार मान्दा काँग्रेसले आधा र बाँकी दलले आधा सिट पाउने सम्भावना बलियो बनेको छ । यसमा सहमति नभए गठबन्धन नै धरापमा पर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्