Logo

परराष्ट्रमन्त्री खड्काको चीन भ्रमणमा उठ्ला त बीआरआई र सीमा समस्याको एजेन्डा



काठमाडौं, २४ साउन । परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणबारे निकै चासो बढेको छ । देशमा चुनावको मिति घोषणापछि पहिलोपटक उच्च अधिकारीबाट चीनको भ्रमण हुन लागेकाले पनि चासो बढेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत र भारतको भ्रमण गरिसकेका छन् । उनको अमेरिका भ्रमण पनि भदौमा हुने चर्चा छ । तर, देउवाले चीन भ्रमण नगर्ने संकेत गरेका छन् । उनले परराष्ट्रमन्त्री खड्कालाई चीन पठाउने तय गरे ।

खड्काको भ्रमणमा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतबारेका परियोजनाबारे महत्वपूर्ण छलफल हुने बताइएको छ । बीआरआई ऋण भएकाले नलिने देउवाको अडान छ । उनले अनुदान भएमात्र लिने चिनियाँ पक्षलाई जवाफ दिइसकेका छन् । यसकारण बीआरआई अनुदानमा बदल्न नेपाली पक्षले पहल गर्ने तयारी गरेको बुझिएको छ । यसबारे खड्काको भ्रमणमा कुराकानी हुनसक्छ ।

हुम्लालगायत उत्तरी सीमामा चीनसँग समस्याहरु देखिएका छन् । सरकारले अध्ययन पनि गरिसकेको छ । प्रतिवेदन मात्र सार्वजनिक भएको छैन । त्यसबारे नेपाली पक्षले कुरा उठाउने हो या होइन ? चासो बनेको छ । आज देउवालाई भेटेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमा समस्याबारे समाधान हुने गरी मुद्दा उठाउन जोड दिए ।

चीनसँग महत्वपूर्ण सम्झौताका विषय पनि उठ्न सक्छन् । विशेषगरी लगानी, व्यापारबारे विषय उठ्ने बुझिएको छ । तर, दुरगामी असर पर्ने खालका सम्झौताबारे कुरा अगाडि नबढ्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्