Logo

चाडपर्वको निर्णय गर्दै स्थानीय सरकार



काठमाडौँ २४ साउन । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा साउन २७ गते शुक्रबार एकैदिन पर्ने निर्णय गरेको छ । नेपालीहरूको धर्म, संस्कृति मूल्य, मान्यता र परम्पराको संवाहक र निर्देशक कार्यतालिका पात्रोलाई मानिन्छ ।सामान्यतया तिथि, बार, नक्षत्र, योग, करण यी पाँच विषय पात्रोमा हुने भएकाले यसलाई पञ्चाङ्ग भन्ने गरिएको हो ।

पञ्चाङ्गको निर्णयका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले एक समिति गठन गर्छ । उक्त समितिले धर्मशास्त्रविद्, ज्योतिषिलगायत विद्वान्को सहभागितामा बैठक गरी चाडपर्वको निर्णय गर्ने गर्छ । समितिले यस वर्ष स्वीकृत गरेका पात्रो (पञ्चाङ्ग) मा साउन २७ गते रक्षाबन्धन र गाईजात्रा पर्व पर्ने उल्लेख छ । समितिको यस वर्षको दुबै पर्व एकै दिन मनाउने निर्णय काट्दै भक्तपुरका दुई स्थानीय तहले फरक निर्णय गरेका छन् । भक्तपुरको मध्यपुरथिमि र भक्तपुर नगरपालिकाले साउन २६ गते बिहीबार रक्षाबन्धन (जनैपूर्णिमा) र साउन २७ गते शुक्रबार गाईजात्रा पर्व मनाउने निर्णय गरेका हुन् । यो निर्णयसँगै चाडपर्वका बारेमा निर्णय गर्ने अधिकार स्थानीय सरकारलाई छ कि छैन भन्ने बहस पनि चलेको छ ।

मध्यपुरथिमि नगरपालिकाले साउन २३ गते सोमबार सरोकारवालासँग बैठक गरी यस्तो निर्णय गरेको सार्वजनिक भएको छ । यसवर्षको गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते बिहीबार र सापारु (गाईजात्रा) साउन २७ गते शुक्रबार मनाउने नगरपालिकाको निर्णय छ । नगरपालिकाले आयोजना गरेको छलफलमा सरोकारवालाले नेवारी परम्परागत संस्कृतिमा एकै दिन दुई पर्व मनाउन व्यावहारिक नभएको गुनासो गरेको नगरपालिकाले जनाएको छ । ज्योतिषशास्त्रअनुसार तोकिएकै तिथिमा सांस्कृतिक पर्व मनाउनुपर्छ । नेवारी संस्कृतिमा कतिपय अवस्थामा सो अव्यावहारिक हुने गरेकाले दुई दिन मनाउने निर्णय गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले छलफलमा जानकारी गराए । समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भएअनुसार साउन २६ गते बिहान पौने ११ बजेदेखि २७ गते बिहान सवा ७ बजेसम्म पूर्णिमा तिथि छ । त्यसैले पात्रोमै उल्लेख भएअनुसार २६ गते नै जनैपूर्णिमा मनाउने निर्णय गरिएको उनले सुनाए ।

नगरपालिकाको छलफलमा वडा नं ८ बोडेको ऐतिहासिक एवं धार्मिक महत्वको नीलबाराही देवगणको द्यः प्याखँ गाईजात्राको भोलिपल्ट द्वितीयादेखि प्रदर्शन गर्नुपर्ने परम्परा रहेको विषयमा पनि छलफल भएको थियो । यसका लागि २७ गते गाईजात्रा मनाउनुपर्ने सुझाव द्यः प्याखँका नाइके प्रेमचन्द्र अदुवा श्रेष्ठले दिएको विवरण नगरपालिकाले सार्वजनिक गरेको थियो । यसअघि भक्तपुर नगरपालिकाले पनि तलेजुका पुजारीसँगको छलफलपछि साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरेको समाचार सार्वजनिक भएको थियो ।

पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी स्थानीय सरकारलाई चाडपर्वको निर्णय गर्ने अधिकार भए नभएको विषयमा आफूले भन्न नसक्ने बताए । समितिले धर्मशास्त्रविद् र ज्योतिषिसमेत बसेर निर्णय गरेकाले यो शास्त्रसम्मत रहेको जानकारी पनि उनले दिए । “पूर्णिमा तिथिको पूर्वाद्र्धमा भद्रा हुन्छ, भद्रामा श्रावणी र फाल्गुनी नगर्नु भन्ने शास्त्रीय मत छ, यसैले परम्परा र व्यावहारिकतालाई पनि हेरेर साउन २७ गते शुक्रबार रक्षाबन्धन र गाईजात्रा दुवै पर्व मनाउने निर्णय गरिएको हो, सापारु शब्दले नै प्रतिपदा तिथिका दिन गाईजात्रा मनाउनुपर्ने भन्ने बुझिन्छ”–उनले भने ।

संस्कृति मन्त्रालयका प्रवक्ता डा टोकराज पाण्डे पनि स्थानीय चाडपर्वका विषयमा मात्र स्थानीय सरकारले निर्णय गर्ने बताए । राष्ट्रिय रुपमा मनाउने चाडपर्वका बारेमा पञ्चाङ्ग निर्णायक विकास समितिले नै निर्णय गर्दा विज्ञता पुग्छ भन्ने मान्यतामा समितिको गठन आदेशमा व्यवस्था गरिएको उनले जानकारी दिए । मन्त्रिपरिषद्ले २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गर्दै चाडपर्व सम्बन्धी निर्णय, पात्रो एवं भित्तेपात्राको स्वीकृति र ज्योतिष एवं कर्मकाण्ड क्षेत्रलाई व्यवस्थित गर्ने अधिकार समितिलाई दिएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल चाडपर्वका बारेमा नगरपालिकाले निर्णय गर्दा गलत नजिर बस्ने बताए । साउन २७ गते रक्षाबन्धनपछि गाईजात्रा भ्याइँदैन भन्ने तर्क हुन नसक्ने उल्लेख गर्दै उनले साउन २६ गते सूर्योदयकालमा चतुर्दशी तिथि र अपराह्नकालमा पूर्णिमा तिथि लागेपछि भद्रा हुने भएकाले रक्षाबन्धन त्यसदिन हुन नसक्ने उनले सुनाए । विश्व ज्योतिष महासङ्घका अध्यक्ष लोकराज पौडेल चाडपर्व मनाउँदा शास्त्रीय मान्यता अनुसार नै मनाउनुपर्ने भएकाले समितिको निर्णय उचित रहेको बताए । रासस



प्रतिक्रिया दिनुहोस्