Logo

महागठबन्धनबाट ‘प्रधानमन्त्री’ बन्ने रणनीतिका साथ नितिशकुमार मोदीसँग गठबन्धन तोड्दै



एजेन्सी, २४ साउन । भारतमा नेस्नल डेमोक्रेटिक एलायन्स एनडीएमा खटपट भएको छ । नरेन्द्र मोदी प्रधानमन्त्री बनेर चलिरहेको एनडीएमा खटपटका कारण विभाजन आउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एनडीएको घटक जनता दल युनाइटेडले विहारमा गठबन्धनमा फेरबदल ल्याउन खोजेको छ । नितिश कुमार मुख्यमन्त्री भई भाजपालाई सत्तामा सामेल गरेकोमा लालु यादवको दल राष्ट्रिय जनता दल, कँग्रेस आईलगायतसँग गठबन्धन बन्न लागेको चर्चा छ ।

नितिशकुमारले भाजपासँग सरकार सञ्चालनमा समस्या आएको भन्दै नयाँ कदम चाल्न लागेका हुन् । उनले आजै विहारका गभर्नरलाई भेट्ने तय भएको छ । यसलाई भाजपासँग गठबन्धन तोडेर नयाँ गठबन्धनमा जान लागेको संकेतका रुपमा हेरिएको छ ।

नितिश कुमारको दल जनता दल युनाइटेडको विहारमा भाजपासँग विवाद बढ्दै गएको छ । विहारमा कुनै पनि दलको बहुमत छैन ।

नितिशको पछिल्लो कदमलाई अबको लोकसभा चुनावमा उनी कँग्रेस आईसहित महागठबन्धनमा सामेल हुन लागेको संकेतका रुपमा लिन थालिएको छ । नितिशलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर महागठबन्धन बनाई चुनावमा जाने गरी तयारीहरु भइरहेको चर्चा छ । कँग्रेस आई, ममता बेनर्जी नेतृत्वको तृणामुल, अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी, लालु यादवको दल राष्ट्रिय जनता दलका अलावा अन्य क्षेत्रीय दल मिलेर मोदीलाई चुनौती दिने रणनीतिहरु बनिरहेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्