Logo

यी हुन् ललितपुर २ बाट काँग्रेसबाट टिकटका दाबेदार



काठमाडौं, २४ साउन । नेपाली काँग्रेस ललितपुरभित्र टिकटका लागि अहिले देखि नै दौडधूप चलेको छ । तीनवटा क्षेत्र रहेको ललितपुरमा क्षेत्र नम्बर २ मा चारजना मुख्य दाबेदार देखिएका छन् ।

ललितपुर २ बाट २०७० मा निर्वाचित सांसद चन्द्र महर्जन मुख्य दाबेदार बनेका छन् । उनी काँग्रेस बागमती प्रदेशका उपसभापति पनि हुन् । महर्जन उक्त क्षेत्रबाट सबैभन्दा धेरैपटक चुनाव लड्नेमा पर्दछन् । एकपटक मात्र जित्न सके । महर्जन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट मानिन्छन् ।

२०७० मा समानुपातिकतर्फबाट सभासद बनेका रामकृष्ण चित्रकार पनि दाबेदार देखिएका छन् । चित्रकार नेविसंघका पूर्वउपसभापति पनि हुन् । उनी काँग्रेस ललितपुर जिल्ला सभापतिमा झीनो मतान्तरले पराजित भएका थिए । टिकटको दाबी गर्दै चित्रकारको दौडधूप तिव्र भएको छ । उनी काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महत निकट मानिन्छन् ।

नेविसंघका पूर्वसहमहामन्त्री बाबुराजा चित्रकार पनि टिकटको दाबेदार हुन् । ललितपुर २ मा टिकटका मुख्य दाबेदारमध्ये उनी सबैभन्दा कान्छा हुन् । चित्रकारको युवामाझ बलियो पकड रहेको छ । उनी काँग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट मानिन्छन् ।

यसैगरी, जिल्लाका प्रभावशाली नेता प्रेमकृष्ण महर्जन पनि ललितपुर २ मा टिकटको दाबेदार बनेका छन् । उनी मेयरको टिकटको दौडमा थिए । जिल्लाको राजनीतिमा बढी केन्द्रित भएका महर्जन यसपटक पछि नहट्ने भन्दै सक्रिय छन् ।



प्रतिक्रिया दिनुहोस्