Logo

लोसपा पनि सरकारमा



काठमाडौं, साउन २५। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सरकारमा सहभागी हुने भएको छ । पाँच दलीय गठबन्धनमा भित्र्याउने तयारी भइरहेकै बेला लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागी हुने संकेत गरेका छन् ।

नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई पाँच दलीय गठबन्धनमा भित्र्याउने गृहकार्य गरिरहेकै बेला महतोले यस्तो संकेत गरेका हुन् ।

पछिल्लो समय प्रधानमन्त्री देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुर, महतोसहितका शीर्षनेतासँग छलफल गर्दै गठबन्धन र सरकारमा सहभागी हुन प्रस्ताव गरिसकेका छन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनअघि नै लोसपालाई पाँच दलीय गठबन्धनमा भित्र्याउने तयारी भएको थियो । तर, सो प्रयास असफल भएपछि देउवाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि नै लोसपालाई भित्र्याएर गठबन्धनलाई अझै बलियो बनाउने प्रयास गरेका छन् ।

जपान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएपछि लोसपालाई गठबन्धनमा भित्र्याउनेबारे निर्णय हुने कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्दबहादुर कार्कीले जनाएका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्