Logo

कर्मचारी आन्दोलन सरकारले नै चाहेजस्तो दखियोः अध्यक्ष पोखरेल



काठमाडौं, २५ साउन । निजामती कर्मचारीको साझा ट्रेड युनियन नेपाल निजामती कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले हिजोको कर्मचारी आन्दोलन सांकेतिक मात्र भएको बताएका छन् ।
“हिजोको आन्दोलन नासु, खरिदारहरुको मात्र होइन । यसमा सबै कर्मचारी समर्थन छ । हिजोको आन्दोलन सांकेतिक हो । कर्मचारीले विभेदविरुद्ध ऐक्यबद्धता जनाएका छन् । तर यो आन्दोलन गर्नेहरुको भन्दा पनि सरकारको चाहनामा भएजस्तो देखियो,” । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले भने ।
नासु र अधिकृत अनि संघको शाखा अधिकृत र प्रदेश र स्थानीय तहमा समायोजन भएका अधिकृतको तलब निर्धारणमा विभेद गरिएको आरोप पनि पोखरेलले लगाए । उनले थपे, “बजेट भाषणमा सबै कर्मचारीको १५ प्रतिशत तलबवृद्धि गर्ने भनिएको थियो । तर फेरि अर्कै तलबमान सार्वजनिक गरियो । नासु र शाखा अधिकृतबीच १३-१४ हजार फरक भएको छ । नासु र अधिकृतबीचको तलबमा फरक मिलाउनुपर्छ । खरिदार र नासुबीचको अन्तर खासै छैन । संघमा बस्ने नयाँ नियुक्ति लिएको शाखा अधिकृत र अन्यत्र समायोजन भएर गएका पुराना शाखा अधिकृतको तलबबीच पनि चार हजार फरक भएको छ । संघको सचिव र प्रदेशको सचिवमा खाडल छ । संघको कर्मचारी राजा र तलको रैती हो र ?” उनले सुब्बालाई बढुवा भएर अधिकृतमा जान नदिने कानुन बनाउन खोजिएको आरोप पनि लगाए ।

एउटै कानुनअन्तर्गत नियुक्त भएको कर्मचारीको तलब सुविधा समान हुनुपर्नेमा पोखरेलको जोड छ । उनले भने, “यो समायोजन ऐनको बर्खिलाप छ । तलबको विषयमा अर्थमन्त्रीले रद्द गर्ने बताइसक्नुभएको छ । हिजोको आन्दोलन सांकेतिक हो । निरन्तर रुपमा गर्ने होइन । कर्मचारीले शक्ति देखाएका हुन् ।”
पोखरेलले कर्मचारीले पार्टीको झन्डा नबोकेको पनि स्पष्टीकरण दिए । उनले भने, “मैले कम्युनिस्टको होइन, श्रमिकको झन्डा बोकेको छु । अहिले शेरबहादुर देउवाको झन्डा बोकिएको छ । मन्त्रीले देशको झन्डा नबोकेकाले कर्मचारीले जबर्जस्ती मन्त्रीको झन्डा बोकेका हुन् । तर पार्टीको झन्डा बोकेका छैनन् ।” साथै उनले दलितको नागरिकतामा विभेदकारी नाम कर्मचारीले न्वारान नगरिदिएको पनि जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्