Logo

कांग्रेसको संगठनलाई अपमान गरेर तालमेल हुन सक्दैनः गगन थापा



काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले एक सय सिट दाबी गर्नु स्वाभाविक भएको बताएका छन् ।
प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै नेता थापाले भने, “स्थानीय तहको निर्वाचनलाई हेर्दा संघीय संसद्का १६५ सिटमध्ये ७७–७८ सिटमा हामी पहिलो छौं । ४-५ ठाउँमा मात्र तेस्रो छौं । बाँकी सबै सबै ठाउँमा दोस्रो छौं । एउटा सिट छाड्दा त साथीहरुको कसरी चित्त बुझाउने भन्ने अवस्था आउँछ । तालमेलको कुरा गर्ने दलहरुले नेपाली कांग्रेसको सांगठानिक अवस्था र कार्यकर्ताको भावना हेर्नु पर्दैन ? १६५ मध्ये सय सिटमा कांग्रेसले दाबी गर्नु स्वाभाविक हो ।”

सिट मिलाउन धेरै गाह्रो छ
दलहरुको दाबीलाई मान्ने हो भने सिट मिलाउन धेरै गाह्रो भएको पनि थापाको स्वीकारोक्ति छ । उनले भने, “सिट बाँडफाँटको आधारका रुपमा केही साथीहरुको २०७४ को निर्वाचन भनेका छन् । केही साथीहरुले स्थानीय तहको निर्वाचनलाई आधार मान्नुपर्ने बताएका छन् । यसलाई मिलाउन धेरै गाह्रो छ । ३० हजारमा २ हजार थप्दा पनि ३२ हुन्छ, २ हजारमा ३० हजार थप्दा पनि ३२ नै हुन्छ । तर २ हजारमा ३० थप्न गाह्रो हुन्छ भन्ने पनि गठबन्धनका साथीहरुले बुझ्नुपर्यो नि ।”
कांग्रेसलाई अपमान गरेर चुनावी तालमेल हुन नसक्ने पनि महामन्त्री थापाले स्पष्ट पारे । उनले थपे, “चुनाव जित्नका लागि मात्र तालमेल हो भन्ठान्ने साथीहरुलाई कांग्रेसले एक्लै बहुमत ल्याए हामीलाई साथमा राख्ला कि नराख्ला भन्ने चिन्ता होला । मेरो दलको भागमा बढी होस् भन्ने चाहना होला । तर गठबन्धन दलका साथीहरु नेपाली कांग्रेसको अवस्था र हैसियत नेहरी तर्साएर अर्कातिर लाग्छौं भनिरहनुभएको छ । उहाँहरुको अपमान गरेर पनि तालमेल हुन्न, सँगसँगै के बिर्सनुभएन भने कांग्रेसको अपमान गरेर पनि तालमेल हुन सक्दैन ।”

चुनावपछि आआफ्नो बाटो नलाग्ने ग्यारेन्टी के ?

कांग्रेसको केन्द्रीय समितिका ९० प्रतिशत साथीहरु गठबन्धनको पक्षमा रहेको पनि उनले बताए । थापाले थपे, “हामीले २०७० मा २९ प्रतिशत मत पाएका थियौं, २०७४ मा ३३ प्रतिशत आए पनि थोरै सिट पायौं । त्यसकारण केन्द्रीय समितिका ९० प्रतिशत साथीहरुको राय निर्वाचनअघि नै तालमेल गर्नुपर्छ भन्ने छ । कम्युनिस्टहरु विविध कारणवश अहिले फुटे पनि फेरि एक ठाउँमा आउँछन् भन्ने छ ।”
चुनावी तालमेल आवश्यकता भए पनि त्यसका आधार निर्माण गर्नुपर्ने थापाले औंल्याए । उनले भने, “पछिल्लो समय सबैजसो दलले सबैजसो दलसँग बसेर सरकार बनाएका छन् । मुलुकको निर्वाचन प्रणालीका कारण चुनावपछि गरे पनि चुनाव अघि गरे पनि तालमेल आवश्यक छ । तर जित्नका लागि तालमेल गर्ने अनि जितेको भोलिपल्टबाट नेपाली कांग्रेसलाई दलाल, सामन्तवादी, राष्ट्रघाती भन्ने हो भने त्यसको के अर्थ ? चुनावमा सँगै बसौंला तर चुनावपछि आआफ्नो बाटो नलाग्ने ग्यारेन्टी के ? के भनेर जनतासँग मत माग्न जाने ? सिट बाँडफाँट र तालमेलको औचित्य कसरी साबित हुन्छ ?”

गठबन्धन दलहरु साझा चिह्नमा जाने सम्भावना छैन
गठबन्धन दलहरु साझा चिह्नमा जाने सम्भावना नभएको पनि कांग्रेस महामन्त्री थापाले बताए । उनले भने, “हामीले भागबन्डा मात्र गर्यौं भने त्यो प्रत्युत्पादक हुन्छ । गठबन्धन दलहरुलाई रुख चिह्नमा लैजान तत्काल सम्भव छैन र हामी पनि चाहँदैनौं । अहिलेको अवस्थामा सबै कुरा मिल्यो भने त एउटै दल भइहाल्यो नि ।”

देउवा ६० को मात्र सभापति होइन
पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई ६० प्रतिशतको सभापतिका रुपमा देखाउन नहुने पनि महामन्त्री थापाले औंल्याए । उनले भने, “हामीले वडा तहदेखि केन्द्रसम्म समूह बनाएर चुनाव लड्यौं । तर सभापतिको कलमबाट हस्ताक्षर गर्दा ६०, ४० को हेर्नुहुन्न । ६०, ४० को भागबन्डा गर्नु पनि गलत हुन्छ । कसैले दिने र थाप्ने भन्दा पनि सँगै बसेर निर्णय गर्ने हो । पार्टीभित्र मलाई जानी जानी अन्याय भएको छ भन्ने अवस्था आउन दिनुहुन्न । इतर समूहलाई पनि समेटेर नगए भने तालमेलको निर्णय कार्यान्वयन चुनौतीपूर्ण हुन्छ । म त अझ पार्टीको सोपान चढ्दै आएका साथीहरु मात्र नभएर विभिन्न क्षेत्रमा रहेका साथीहरुलाई पनि मौका दिनुपर्छ भन्ने पक्षमा छु ।”

भावी प्रधानमन्त्री घोषणा गरेर जाऊँ
कांग्रेस महामन्त्री थापाले २०५६ को आम निर्वाचनमा जस्तै भावी प्रधानमन्त्री घोषणा गर्ने अभ्यास दोहोर्याउने पक्षमा रहेको बताए । उनले भने, “म अहिले ४६ वर्षको भएँ । केन्द्रीय सदस्यदेखि महामन्त्रीसम्म लडेरै निर्वाचित आएको हुँ । मैले प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्न नसक्ने करै भएन । शेरबहादुर देउवा पनि हिजो गिरिजाप्रसाद कोइरालालाई हाँक दिएर आउनुभएको होइन र ? म २०५६ को आम निर्वाचनमा जस्तै भावी प्रधानमन्त्री घोषणा गर्ने अभ्यास दोहोर्याउने पक्षमा छु ।” डा. शेखर कोइराला र शेरबहादुर देउवाको समर्थनमा प्रधानमन्त्री बन्ने आफ्नो चाहना रहेको पनि उनले बताए ।

देउवाले प्रचण्ड प्रधानमन्त्री भन्नुभएको छैन
पार्टी सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भावी प्रधानमन्त्री नभनेको पनि थापाको जिकिर छ । उनले भने, “पार्टी सभापतिले त्यसो भन्नुभएको छैन । भन्न पनि सक्नुहुन्न । किनभने गठबन्धन दलहरुबीच शक्तिको बाँडफाँडबारे कुनै छलफल भएको छैन ।” ३० वर्ष एकछत्र राज गरेका नेताहरुले अब सम्मानका साथ बिदाइ लिने बेला आएको उनको धारणा छ ।

 



प्रतिक्रिया दिनुहोस्