Logo

कम्तिमा ८० निर्वाचन क्षेत्रका काँग्रेसका टिकटका आकांक्षीले ५ वर्ष पर्खलान् कि विद्रोह गर्लान्



काठमाडौं, २५ साउन । सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्दा नेपाली काँग्रेसले प्रत्यक्षतर्फ विगतमा जितेको २३ सिट सुरक्षित नै हुनेछ ।

त्यसपछि बाँकी उसले कति सिट पाउने भन्ने अनुमानहरु भइरहेका छन् । सम्भवत काँग्रेसले ८० देखि ९० सिट पाउनेछ । यसको अर्थ अब काँग्रेसले पाउने ५७ देखि ६७ सिट हो ।

१६५ सिटमध्ये काँग्रेसले पाउने ८० देखि ९० सिटमध्ये २३ सिटमा लगभग यसअघि जितेकै उम्मेदवारहरुको मुख्य दाबेदारी रहन्छ । बाँकी सिटमा दौडधूप चल्ने हो ।

काँग्रेसका पदाधिकारी भएकाहरुलाई पनि प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेदवार बन्न मुश्किल छ । कतिपयले हारेको क्षेत्रमा माओवादी, नेकपा एस, जसपा र राजमोका उम्मेदवारहरु जितेका थिए । त्यहाँ गठबन्धनका घटककै उम्मेदवारले पाउने सम्भावना बलियो छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको डडेलधुरा निर्वाचन क्षेत्र छ । सम्भवत उनी त्यहीबाट चुनाव लड्ने सम्भावना बलियो छ । उपसभापति पूर्णबहादुर खड्का सुर्खेतबाट चुनाव लड्ने सम्भावना छ । अर्का उपसभापति धनराज गुरुङ्गको क्षेत्र स्याङ्जा हो जहाँ गोपालमान श्रेष्ठ पनि दाबेदार छन् ।

रामचन्द्र पौडेल यसअघि तनहुँबाट पराजित भएका थिए । त्यहाँ उनको दाबी भएपनि किसान श्रेष्ठले छाड्नुपर्ने हुन्छ । किसान नेकपा एसमा छन् । पौडेल चितवन जाने चर्चा पनि छ ।

महामन्त्री गगन थापाको काठमाडौं ४ चुनावी क्षेत्र हो । उनी सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माको झापा चुनावी क्षेत्र हो । उक्त क्षेत्रबाट २०७४ मा राम कार्की जितेका थिए । कार्कीले छाडेमा मात्र शर्मा उम्मेदवार बन्ने सम्भावना रहन्छ ।

यसरी प्रभावशाली नेताहरुलाई नै टिकटका लागि मुश्किल परिसकेको छ । यस्तो अवस्थामा काँग्रेसका आकांक्षीमध्ये यसअघि जितेकामध्ये २३ बाहेक ५७ देखि ६७ ले मात्र अवसर पाउने अवस्था छ । यसकारण धेरै नेताहरुले या त ५ वर्ष कुनुपर्छ या त काँग्रेसबाट विद्रोह गर्नुपर्छ ।

काँग्रेसका शिर्ष नेताहरुले चुनाव जित्ने सुनिश्चितताका साथै प्रधानमन्त्री बन्ने महत्वाकांक्षाले लामो समय राजनीतिमा जीवन बिताएकाहरुको लागि यो चुनाव शुभ नहुने देखिएको छ । उनीहरु टिकट नपाएर गठबन्धनको अर्को दलका उम्मेदवारलाई सघाउने अवस्थामा पुग्दैछन् ।



प्रतिक्रिया दिनुहोस्