Logo

महिला फुटबलर दीपाले केरेला महिला लिग खेल्ने



काठमाडौँ,२५ साउन । राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य एवम् मिडफिल्डर दीपा न्यौपानेले भारतको केरेला महिला लिग खेल्ने भएकि छिन् ।

नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहेकी उनी उक्त प्रतियोगिताका लागि आज दिउँसो नै भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीबाट खेल्नेछिन् । केरेला महिला लिगको च्याम्पियन टोली आइलिगमा छनोट हुनेछ ।

“प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु । यो मेरो विदेशमा पहिलो अवसरसमेत हो”, उनले भनिन् । उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी पनि सहभागी छिन् । उनले गोकुलम केरेला क्लबबाट खेल्नेछिन् ।

प्रतियोगितामा गोकुलमसहित, केरेला ब्लास्टर, केरेला युनाइटेडलगायत १० टोलीको सहभागिता रहनेछ । केरेला लिगमा डन बोस्को साबिक उपविजेता हो । दीपाले दुई महिनाका लागि आफूले सम्झौता गरेको बताइन् । उनले आइलिगमा छनोट भए, त्यसमा पनि अवसर मिल्ने सम्भावना रहेको बताइन् ।

यही साउन २५ गतेदेखि सुरु भएको उक्त प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाइटेडबीच हुनेछ । डन बोस्कोले आफ्नो पहिलो खेलमा भोलि लड्र्स पिआरविरुद्ध खेल्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्