Logo

कोरोनाबाट मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढी खोप नलगाएकाहरु



काठमाडौं, साउन २६ । बितेको ३ दिनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । यसअघि मंगलबार कोरोना संक्रमणबाट २ जना र आइतबार १ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार बितेका २४ घण्टामा ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ६ सय १४ जनाको पीसीआर र ३ हजार ९१ जनाको एन्टिजेन गरी कुल ६ हजार ७ सय ५ जनाका परीक्षण गरिएकोमा ८ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआरबाट ८ सय ६८ र एन्टिजेनबाट ३ सय ७२ मा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

बुधबार कोरोनाको सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ८५ पुगेको छ । तीमध्ये ५ हजार ६ सय ७१ घरमै आइसोलेसनमा छन् भने २ सय १४ जना संस्थागत आइसोलेसन र ६४ जना आईसीयूमा रहेका छन् । त्यसै गरी ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ सय १४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार १० वर्षमुनिका ६ जना बालबालिकामा र ११ देखि २० वर्ष उमेर समूहका ३० जनामा संक्रमण देखिएको छ । यसैबीच स्वास्थ्य मन्त्रालयले हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको भन्दै सबैलाई खोप लगाउन आग्रह गरेको छ । नेपाल समाचापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्