Logo

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण ढिलो गर्नु देशका लागि दुर्भाग्यः जसपा नेता



काठमाडौं, २६ साउन । जनता समाजवादी पार्टी (जसपा) नेता रामसहायप्रसाद यादवले १२ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नहुनुले राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकका समस्यामा संवेदनशील नपाएको बताएका छन् ।
“विगतको सरकार हुँदा एक दिनमै संसद विघटन सिफारिस हुने र सदर हुने, एकै दिन अध्यादेश पठाउने र प्रमाणीकरण हुने हामीले देखेकै हौं । तर राष्ट्रपतिले नागरिकता विधेयकमा एकछिन पनि विलम्ब गर्नुहुँदैनथ्यो । तर आज १२ दिनसम्म प्रमाणीकरण गर्नुभएन । राष्ट्रपतिले ढिलो गर्नु देशका लागि दुर्भाग्य हो । देशका नागरिकले पेशा व्यापार गर्न, विदेश जान र ऋण लिन नपाइरहेको अवस्थाबारे राष्ट्रपतिलाई संवेदनशील पाइएन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने ।
नागरिकता विधेयकले एक हातमा सिन्दूर, अर्को हातमा नागरिकता दिने भन्ने कुरा अतिरञ्जित प्रचारबाजी भएको पनि यादवले बताए । उनले भने, “दुवै सदनको बहुमतले सोचीविचारीकन नागरिकता विधेयक पास गरेको हो । एक हातमा सिन्दूर, अर्को हातमा नागरिकता दिने भन्ने प्रचार नै गलत मानसिकताको उपज हो । देशको नागरिकता त्यागेपछि न नेपाली नागरिकता पाउने हो । यो देश सबैको हो भन्ने भावना नभएकाले गलत प्रचारबाजी गरिरहेका छन् ।”
अर्को प्रसंगमा जसपा नेता यादवले सत्तारुढ गठबन्धनको कार्यदलको आजको बैठकमा सिट बाँडफाँटको मापदण्डबारे छलफल हुने पनि बताए । उनले थपे, “अस्तिको बैठकमा कुनै पनि दलले औपचारिक रुपमा सिटको प्रस्ताव गरेनन् । आजको बैठकमा त्यसको आधार तय गर्छौं । कुनै दलले सिटको प्रस्ताव ल्यायो भने छलफल गर्छौं ।”
नेपाली कांग्रेस महामन्त्री गगन थापाले त सय सिट नभए तालमेल हुँदैन भनिरहनुभएको छ नि भन्ने प्रश्नमा गठबन्धनको कार्यदलका सदस्य समेत रहेका यादवले भने, “गठबन्धन दलहरुले विगतको प्रतिनिधिसभाको निर्वाचन र स्थानीय तहको निर्वाचनलाई आधार मान्ने भनिरहेका छन् । मोटामोटी कुरा त्यही हो । कुनै नेताले बाहिर के भन्छ, त्यस आधारमा हामीले धारणा बनाउने होइन । कार्यदलको बैठकमा कुरा आएको छैन । कांग्रेसले सय सिट भन्ला, अरु दलले ५०, २५ भन्दै जालान् । आखिर १६५ सिटमै वितरण हुने हो ।”
उनले कोही पार्टीबाहिर जाँदैमा जसपा कमजोर भएको मान्न नसकिने पनि बताए । यादवले भने, “बाबुराम भट्टराई, महन्थ ठाकुर, महिन्द्र राय यादवबाट जसपामा कति जना आएका थिए ? जाँदा कति गए ? कति जना जसपामै बसे ? तथ्यांक हेरेर भन्नुस् न ऋषिजी ? हिजो बाबुरामको बहुमत पुग्यो भन्ने पनि मिडिया नै हो । रेणु यादव आफैंले जिम्मेवारीमा बस्दिनँ भन्नुभएको हो । पार्टी छाड्नुभएको छैन । बाबुराम र महिन्द्र रायबाहेक सबै सांसद जसपामै छन् ।”



प्रतिक्रिया दिनुहोस्