Logo

नेपाली कांग्रेसलाई सय सिट स्वाभाविक होः एनपी सावद



काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता एनपी सावदले सत्ता गठबन्धनका साझेदारहरू आआफ्नो पार्टीको सामर्थ्य अनुसार सिट बाँडफाँटमा सहमत हुने विश्वास व्यक्त गरेका छन् ।
“प्रारम्भिक अवस्थामा सत्ता साझेदार दलहरुले हामीलाइए यति सिट चाहिन्छ भन्नु स्वाभाविक छ । किनभने अहिलेसम्म तालमेलको कुनै सेट मोडल छैन । तर सबैले १६५ सिटभित्रै आफ्नो जे जति सामर्थ्य छ, त्यस अनुसार सिट लिने हो । २०७४ को आम निर्वाचन र स्थानीय तहको निर्वाचनका तथ्य र आँकडाअनुसार नेपाली कांग्रेसले सय सिट लिनु स्वाभाविक हुन्छ । एकाध सिट कम वा बेसी होला । सहमतिका निम्ति अधिकतम लचकता चाहिन्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सावदले भने ।
पार्टीको केन्द्रीय समितिले गठबन्धन दलहरुसँग तालमेल गरेर जाने निर्णय लिइसकेको अवस्थामा त्यसबारे अनावश्यक आशंका गरिरहनुको औचित्य नभएको पनि नेता सावदले बताए । उनले थपे, “अहिले वार्ता, छलफल चलिरहेका बेला एक्लै जान्छु भन्ने कुरा गर्नु सान्दर्भिक हुँदैन । निश्चित नतिजा प्राप्तिका लागि तालमेल अनैतिक पनि हुन्न । तालमेल गर्दा पार्टीहरुले त्याग गरेर जानुको विकल्प हुन्न । सबै ठाउँमा एउटै पार्टीले लड्छु भनेर तालमेल हुन सक्दैन । हामी वार्ता र छलफलबाट हामी निक्र्यौलमा पुग्न सक्छौं । अहिले नै तालमेलमा आशंका गरिरहनु आवश्यक छैन ।”
विमलेन्द्र निधि र शेरबहादुर देउवाबीच मिलनबिन्दु भेटिएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “पार्टीभित्र विविध विचार हुन्छन् । फरक मत हुन्छन् । त्यसमा बहस र छलफल चल्छ । त्यसलाई अन्यथा लिनुपर्ने अवस्था छैन । यो स्थायी मतभेद हो भनेर बुझ्नु पनि हुँदैन । पार्टीभित्र मेलमलिाप हुनु राम्रै कुरा हो । अहिले पार्टीभित्र एकता र मेलमिलापको संस्कृति बढाएर अरु पार्टीसँग तालमेल गरेर जानुपर्ने चुनौती छ ।”
शेखर कोइराला समूहलाई चाहिँ नसमेट्ने भन्ने अर्को प्रश्नमा नेता सावदले भने, “पार्टीभित्रका सबैजनाको भावनालाई समेट्नु सभापति शेरबहादुर देउवाको दायित्व हो । शेखर कोइराला पार्टीको नेता हो । उहाँ सभापतिमा लड्नुभएको पनि हो । उहाँसँग सहकार्य नहुने कुरै भएन । अन्य पार्टीसँग तालमेल भएपछि ६०–४० भन्नुभन्दा सबैलाई अपनत्व महसुस हुने गरेर निर्णयमा पुग्नुपर्छ ।”
दुवै सदनले नागरिकताजस्तो गम्भीर र जटिल समस्या समाधान गरेर पठाएपछि प्रमाणीकरण गर्नु राष्ट्रपतिको कर्तव्य हुने पनि कांग्रेस नेता सावदको धारणा छ । उनले थपे, “राष्ट्रपतिले एकपटक प्रतिनिधिसभामा फिर्ता पठाउनुभयो भने फेरि राष्ट्रपतिकहाँ दोहोर्याएर पठाउने हाम्रो संसदीय अभ्यास पनि छ ।”



प्रतिक्रिया दिनुहोस्