Logo

साक्षात्कारमा महेन्द्र यादव र खगराज अधिकारी झगडामा उत्रिएपछि…



साउन २६, काठमाण्डौ । रिपोर्टस क्लब नेपालमा राजनीतिक दलका नेताहरु साक्षात्कार कार्यक्रममा झगडामा उत्रिएका छन् । ऋषि धमलाको सभापतित्वमा बहस कार्यक्रम चलिरहँदा नेपाली कांग्रेस र नेकपा एमालेबा नेताहरु झगडामा उत्रिएका हुन् । मंसिर चार गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको विषयमा धारणा व्यक्त गर्ने क्रममा नेताहरु वादविवाद गर्न पुगेका हुन् ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले ५ दलीय गठबन्धन र एमालेका विषयमा टिका टिप्पणी गरिहँदा संचारकर्मीले प्रश्न गरेका थिए । गठबन्धनको औचित्य र एमालेलाई एक्ल्याउनुको कारण बारे प्रश्न गरेपछि यादवले अघिल्लो चुनाबमा कांग्रेस एक्लै लडेको र एमालेले माओवादीसँग गठबन्धन गरे जस्तै अहिले आफूहरु ५ दलबीच गठबन्धन गरेर चुनाव लड्न लागेको बताएका थिए ।

त्यसपछि एमालेका नेता खगराज अधिकारी प्रतिवादमा उत्रिएका थिए । कांग्रेसले गठबन्धन नगरी चुनावमा जाने हो भने एक सिट पनि जित्दैन भन्दै अधिकारी जंगिएका थिए । त्यसपछि यादवले निर्वाचन आयोगमा गएर यसअघिको चुनाबको मत संख्या हेर्न चुनौति दिए ।

बसेको ठाउँबाट उठेर अधिकारीले भने–“कांग्रेस र हामी एक्लै चुनाब लडौँ । हामी दुई तिहाईभन्दा बढि ठाउँमा कांग्रेसलाई हराएनौँ भने म राजनीति छोडिदिन्छु ल ।”
यादवले जवाफ फर्काए–“एक्लै लडेर त दुई सय आयो । हाम्रो कति आयो तीन सय ४८ । ” स्थानीय तहको नतिजाको तथ्याङ्क प्रस्तुत गरेका यादवले कांग्रेसले जितेको ३ सय २९ लाई ३ सय ४८ भन्न भ्याए । एमालेले जितेको २ सय प्रमुख/अध्यक्ष हो ।

एमालेले स्थानीय तहको निर्वाचनमा एक्लै लड्छु भनेर पनि थुप्रै साना दलसँग गठबन्धन गरेको तर आफूहरुको गठबन्धनको आलोचना गरेको यादवले बताए । बहस चर्काचर्की भइरहँदा संचारकर्मीले पनि कांग्रेस सिद्वान्त नमिल्ने कम्युनिष्ट दलहरुसँग किन गठबन्धन गर्न गयो भनेर यादवलाई प्रश्न गरेका थिए ।

यादवले पनि कम्युनिष्टहरुको सिद्धान्त छ भने एउटै बनाएर देखाउन चुनौति दिए । उनले अधिकारीलाई देखाउँदै भने–“दोकान २० वटा खोल्ने । अनि सिद्वान्त एउटै छ भनेर भन्ने ?”

त्यसपछि अधिकारी फेरी बोल्न गए, यादव सिटमा गएर बसे । अनि अधिकारीले एमालेको गुणगान गाउन थाले । ५ दलीय गठबन्धनलाई सिद्वान्तविहिन भन्दै थिए । संचारकर्मीलवे प्रश्न गरिहाले–तपाईहरुको राप्रपासँग सिद्वान्त मिल्छ ?

अधिकारीले जवाफ दिए–सिद्वान्त र नीति मिल्दैन । तर कतिपय कुरा… भनेर मिलाउन खोज्दै थिए । संचारकर्मीले प्रश्न गरिहाले–अनि तालमेल किन गर्नुहुन्छ ? अधिकारीले तालमेल र गठबन्धन फरक कुरा हो भनेर टार्ने प्रयास गरे । संचारकर्मीले तालमेल भए पनि गठबन्धन भए पनि चुनाब जित्नै खोजेको त हो नि भन्दै थिए अधिकारी महेन्द्र यादवतर्फ खनिए । “महेन्द्र यादवका लागि होला थुतुनो चिलाएर होला । सभ्यताका साथ बोल्न जान्नुपर्यो नि ।” अधिकारीले भने ।

अधिकारीले कांग्रेसमाथि जाने जति आरोप लगाए । फेरी यादव बोल्न आए, अधिकारी सिटमा बसे । अनि अधिकारीले लगाएका आरोपको यादवले खण्डन गर्न थाले । “एमाले जस्तो दोधारे र झुटो राजनीति हामी गर्दैनौँ ।” यादवले भने ।



प्रतिक्रिया दिनुहोस्