Logo

काँग्रेस र गठबन्धनका दलबीच आधा-आधा सिट बाँडफाट हुनसक्ने



काठमाडौं, २६ साउन । प्रतिनिधि सभा र प्रदेश सभामा सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको नयाँ सूत्रबारे छलफल बढेकोछ । सिट बाँडफाँटको मोडालिटीबारे छलफल गर्न बसेको कार्यदलमा नेपाली काँग्रेसले आधा र गठबन्धनका बाँकी दलले आधा सिट पाउने गरी माओवादी टोलीले प्रस्ताव गरेको हो ।

१६५ सिटमध्ये काँग्रेसले ८२ वा ८३ र बाँकी दलले उतिकै संख्यामा सिट पाउने गरी सहमति निकाल्नेबारे माओवादी टोलीले प्रस्ताव गरेको हो । यसबारे छलफल भएपनि सहमति नबनेको बुझिएको छ ।

कार्यदलमा रहेका नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सहमतिको नजिक पुगिसकेको बताए । उनले ३० साउनमा फेरि बैठक बसी खाका तयार गर्ने बताए । सिट बाँडफाँटबारे भएको छलफलको प्रगतिलाई लिएर पार्टीमा समेत छलफल गरिने जानकारी दिए । उनले २०७४ को चुनाव र हालै भएको स्थानीय तहको चुनावलाई मध्यनजर गरी सिट बाँडफाँट गरिने बताए ।

गठबन्धनमा काँग्रेसले १०० सिट दाबी गरिरहेको छ । माओवादीले ५० र नेकपा एसले ३३ सिट मागेको छ । काँग्रेसलाई लचिलो बन्न गठबन्धनका अन्य दलहरुले आग्रह गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्