Logo

पाँच म्यानपावरविरुद्ध मुद्दा



काठमाडौं, साउन २७ । वैदेशिक रोजगार विभागले पछिल्लो दुई महिनादेखि वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ ।

विभागले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ को अधिकार प्रयोग गर्दै ठगी आरोपमा असारमा तीनवटा र साउनमा दुईवटा गरी पाँचवटा म्यानपावरविरुद्धका मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दायर गरेको हो । विभागका अनुसार ऐनमा यस प्रकारको अधिकार विभागलाई दिए पनि यसको अभ्यास भने विभागले अहिले मात्रै गर्न थालेको छ ।

विभागका अनुसार असार र साउनमा पाँचवटा म्यानपावरका १३ सञ्चालकका नाममा मुद्दा दर्ता भएको हो । विभागले ती म्यानपावरविरुद्ध दायर गरेको मुद्दाअनुसार वैदेशिक रोजगार न्यायाधिकरणले फैसला गरेमा म्यानपावर कम्पनीलाई तीन लाखदेखि पाँच लाख रुपियाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैदसजाय हुनेछ । साथै ती म्यानपावर कम्पनीको इजाजतपत्र पनि रद्द हुनेछ ।

विभागका महानिर्देशक शेषनारायण पौडेलले ऐनमा म्यानपावरविरुद्ध मुद्दा चलाउने अधिकार भए पनि हालसम्म विभागले त्यस्ता कम्पनीविरुद्धमा मुद्दा लगाउने अभ्यास नगरेको र भर्खर मात्रै सुरु गरिएको बताए । “अहिलेसम्म म्यानपावर व्यवसायी जतिसुकै गल्ती गरेर पनि मुद्दा लाग्दैन भन्ने मानसिकतामा थिए तर विभागले अब कानुनअनुसार कसुर गर्नेलाई कारबाही गर्छ,” उनले भने । विभागमा दर्ता उजुरीको चाङ रहेकाले ती सबैको अनुसन्धान गरेर सोही दफालाई टेकेर उजुरी दर्ता गर्ने क्रम जारी रहेको पनि उनले जानकारी दिए ।

विभागले करिब चार करोड ठगी गरेको आरोपमा जरिवानासहित न्यायाधिकरणमा मुद्दा दायर गरेको जनाएको छ। विभागले इजाजतपत्र लिई सञ्चालनमा रहेको अलअरेबिया ओभरसिज नामको म्यानपावर कम्पनीका तीन सञ्चालकविरुद्ध ठगी आरोपमा वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ ।

विभागले दायर गरेको मुद्दाअनुसार संस्थाका सञ्चालक अमरबहादुर गुरुङसमेतले पोल्यान्ड तथा चेक रिपब्लिक मुलुकमा आकर्षक तलबसहित वैदेशिक रोजगारमा पठाइदिने भनेर यज्ञराज सुनुवारलगायतका चाररपाँच जनाबाट ५८ लाख र राहदानी लिएर वैदेशिक रोजगारमा नपठाई ठगी भएको जाहेरी छ । पीडितले दिएको जाहेरीका आधारमा विभागबाट अनुसन्धानका क्रममा इजाजतपत्रवाला अलअरेबिया ओभरसिजका सञ्चालक गुरुङ, भरतबहादुर बुढाथोकी र मोहनप्रसाद चापागाईंसमेतले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिम कसुर गरेको पाइएकाले न्यायाधिकरणमा मुद्दा दायर गरिएको जनाइएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्