Logo

हिजै रक्षाबन्धन गर्नु शास्त्रसम्मत छैनः संस्कृतिविद् गौतम



काठमाडौं, २७ साउन । आजबाट चाडबाड सुरु भएको छ । आजै जनैपूर्णिमा, रक्षाबन्धन, गाईजात्रा, क्वाँटी खाने दिन र राखी बाँध्ने पर्व परेको छ । कतिपयले हिजै रक्षाबन्धन गरेका छन् । संस्कृतिविद् रामचन्द्र गौतम हिजो रक्षाबन्धन गर्नु शास्त्रसम्मत नभएको बताउँछन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने, “चतुर्दशीमा जनै कसरी लगाउने ? सूर्य नउदाउँदै कसरी जनैपूर्णिमा मनाउने । जहिले फुर्सद हुन्छ उहिले पर्व मनाउने होइन ।”
गौतमका अनुसार जनैपूर्णिमाको दुइटा पाटा छन्, रक्षाबन्धन र उपाकर्म (व्रत प्रतिष्ठा) । जीवन सुखमय र आनन्दमय होस्, आपत्विपत् नहोस् र आफ्नो शरीरको रक्षाका लागि मानवमात्रले रक्षाबन्धन लगाउँछन् । जनैले बल, दीर्घजीवन, तेज दिने परम्परागत विश्वास छ । उपाकर्मअन्तर्गत तागाधारी ब्राह्मण, क्षेत्री, वैश्यले जनैधारण गर्छन् ।
जनैपूर्णिमा क्वाँटी खाने पर्व पनि हो । गौतमका अनुसार आत्मरक्षाका लागि स्वास्थ्यलाभ हुने किसिमका परिकार खानुपर्छ । गेडागुडीको रसले स्वास्थ्य लाभ हुन्छ । बर्खा, हिलोमैलो बेहोरेको शरीरलाई गेडागुडीको सेवनले सबल र स्वस्थ बनाउँछ ।

आजै तराई–मधेसमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर अटल सम्बन्धको कामना गर्ने चलन पनि छ । गौतमले भने, “हरेक देशको फरक फरक परम्परा छ । राखी बाँध्ने मधेस-तराईको परम्परा हो । तर यो शास्त्रसिद्ध कुरा होइन, उहाँहरुको परम्परा हो ।”
काठमाडौं उपत्यकालगायत विभिन्न सहरमा दिवंगत आफन्तजनको स्मृतिमा गाईजात्रा मनाउने चलन छ ।



प्रतिक्रिया दिनुहोस्