Logo

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित



काठमाडौं, साउन २७। राजपत्र अनंकित प्रथमश्रेणी नायब सुब्बा (नासु) को आन्दोलनका कारण देशभरका सरकारी कार्यालयहरूको कामकाज बिहीबार पनि प्रभावित रह्यो ।
असन्तुष्टि नासुको आन्दोलनलाई साथ दिँदै निजामती सेवामा क्रियाशील राष्ट्रिय स्तरका पाँचवटा टेड युनियनले माईतीघर मण्डलमा बृहत्प्रदर्शन गरेका कारण सरकारी कार्यालयको कामकाज प्रभावित बन्नपुगेको हो ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी निकट कर्मचारी संगठनहरूले माइतीघर मण्डलामा भेला भएर करिब डेढ घण्टा संयुक्तरूपमा विरोध प्रदर्शन गरेका थिए ।
असन्तुष्ट नासुहरूले आफ्नो तरिकाले आन्दोलन गर्दै आएकोमा अब त्यसलाई निर्णायकबनाउन टेड युनियनहरू पनि सहभागी भएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले बताए। उनले संघीय निजामती ऐनमार्फत आफूहरूको माग सम्बोधन नभएसम्म निरन्तर आन्दोलन अघि बढ्ने बताए ।
यसैबीच पाँच कर्मचारी संगठनका अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गरेर राजपत्राकिंत पदहरूमा तलब वृद्धि गर्दा पद सोपान अनुरूप व्यवस्थापन गर्ने गरी नयाँ तलबमानमा लिएको आधार र तलब वृद्धिलाई कायम राख्दै समायोजन ऐन २०७५ अनुरूप प्रदेश र स्थानीयतहको पदमा समायोजन गर्दाको पद र समायोजन भएको पदलाई राजपत्र अनंकित तथा श्रेणीविहीन पदमा समेत कायम गरी तत्काल लागु गर्न माग गरेका छन् ।
विज्ञप्तिमा नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेल, नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन (निजामती) का अध्यक्ष हरिबहादुर रावल, एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष मोहनकुमार घिमिरे र जनता समाजवादी पार्टी निकट नेपाल मधेशी निजामती कर्मचारी मञ्चका अध्यक्ष भूवनेश्वर चौधरीले हस्ताक्षर गरेका छन् ।
आफ्नो बढुवाको मागलाई सम्बोधन गर्नुपर्ने माग राखेर नायब सुब्बाहरू गत आइतबारदेखि आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका कारण देशभरका विभिन्न सरकारी कार्यालयको सेवा अवरुद्ध भइरहेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्