Logo

पाँच दलले गठबन्धनका नाममा आतंक मच्चाएः विष्णु रिमाल



काठमाडौं, २७ साउन । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले २०७४ मा गरेको गठबन्धन असफल भएकाले आफ्नो पार्टी एक्लै जान लागेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिमालले भने, “हामी २०७४ को प्रयोग असफल भयो निष्कर्षमा पुगको छौं । त्यसैले हामी केन्द्रीय स्तरमा गठबन्धनको नाममा खिचडी बनाएर जाँदैनौं । कुनै कुनै ठाउँमा कुनै कुनै दलसँग तालेमल भएछ भन्ने अर्कै कुरा हो । अहिले हामी आफ्नो चुनाव आफैं लड्ने भनेर लागेका छौं । एक्लै बहुमत पुगेन भने मात्र सोच्ने कुरा आउँछ ।”
एमाले उपमहासचिव रिमालले मुलुकमा अहिले गठबन्धनमा आतंक मच्चाउने काम भइरहेको आरोप पनि लगाए । उनले थपे, “अहिले एमालेसँग एक्लै चुनाव लड्न सक्ने दल एउटा पनि भएनन् । एक्लै उभिन नसक्ने केको दल ? गठबन्धन गरेर मात्र चुनाव लड्ने हो भने फरक फरक दल किन चाहियो त ? कांग्रेस, माओवादी, जसपा, एस किन बनेको ? स्थानीय तहमा एमालेलाई जिरो नै बनाइदिने भनेका थिए । जनता एजेन्डाको पक्षमा आउँछन् । एमालेले चुनाव जित्छ । एजेन्डाविहीन गठबन्धन आतंक मच्चाउने काममात्र हो ।”
एमालेले प्रत्यक्षमा ९० र समानुपातिकमा ५० सिट ल्याउने गरी तयारी थालेको पनि नेता रिमालले बताए । उनले भने, “बहुमतका लागि एमालेले प्रत्यक्षतर्फ कम्तीमा ९० सिट जित्नुपर्छ, समानुपातिकमा ५० सिट ल्याउँछ । प्रचण्डजी सरकारको साँचो आफू लिन कांग्रेस दोस्रो पार्टी बनाइदेऊ भनिरहनुभएको छ । त्यो त जनताले बनाउने हो ।”
एमालेले उम्मेदवार बनाउँदा राजनीतिक इतिहास, त्याग, लोकप्रियता र निष्ठा हेर्ने पनि रिमालले बताए । उनले भने, “हामी मूलतः लोकप्रिय, नयाँ र पुरानो उम्मेदवारको संयोजन गर्छौं । नयाँ अनुहार नभए नेतृत्वको पुस्तान्तरण पनि हुन्न । पहल कदमी, प्रतिस्पर्धा र श्रेष्ठता हाम्रो मूलभूत मान्यता हो ।” एमाले समृद्ध नेपाली सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने खालको घोषणापत्र लिएर जनतामा जाने पनि उनले बताए ।
उनले केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड आदि पुराना नेताको बिदाइको नारा फेसन मात्र भएको आरोप पनि लगाए । रिमालले थपे, “नयाँलाई जिताउने कि पुरानालाई ? त्यो जनताको हक हो । जनताले पत्याएको मानिस नै नेता हुने हो । बोकाले दाइँ हुने भए गोरु किन चाहियो ? क्रमशः पुस्तान्तरण हुने हो । अहिले मुलुकमा राजनीतिक संक्रमण बाँकी नै छ ।”
उनले परराष्ट्रमन्त्री डा. नारायण खड्काको भ्रमणले चीनसँगको सम्बन्ध सुधार्ने प्रयत्न भएको पनि बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot