Logo

वर्षमान पुनको प्रश्नः “माओवादी केन्द्रलाई कांग्रेसको पुच्छर भन्ने हो भने कांग्रेसलाई माओवादी केन्द्रको पुच्छर भन्ने कि नभन्ने ?”



काठमाडौं, २७ साउन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता वर्षमान पुनले गठबन्धनलाई आगामी पाँच वर्षसम्म लैजाने हिसाबले काम भइरहेको बताएका छन् ।
“हामीले २०७४ को आम निर्वाचन, समानुपातिक मत, स्थानीय तहको निर्वाचन र दलहरुको संवेदनशीलतालाई ख्यालमा राखेर तालमेलको आधार तय गरेका छौं । हामीले सिट बाँडफाँटमा त्यति धेरै समस्या देखेका छैनौं,” प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै नेता पुनले भने, “कतिपय पत्रकार साथीहरु आफ्नै सिट गुम्न लागेकोजस्तो चर्का प्रश्न गरिरहनुभएको छ । तर कार्यदलका सदस्यहरु कुल भएर गठबन्धनलाई पाँच वर्षसम्म अगाडि बढाउने हिसाबले सौहार्द वातावरणमा काम गरिरहेका छौं । हामी लोकतन्त्र बचाउने, संघीयता सुदृढ गर्ने, सुशासन कायम गर्ने जिम्मेवारी पनि गठबन्धनकै हो ।”
नेता पुनले कार्यदलमा अहिलेसम्म कुनै पनि दलले सिटको दाबी नगरेको पनि बताए । उनले थपे, “कार्यदलमा हामीले सिट दाबी गरेका छैनौं । कांग्रेसले पनि कार्यदलमा पोजिसन बताएको छैन । बाहिर को नेताले के भन्यो भन्ने कुरामा जानु आवश्यक छैन । अहिले गठबन्धनमा प्रत्यक्ष निर्वाचित सांसदको ८८ सिट छ । अन्य दलले जितेका बाँकी ७७ सिटमा स्वाभाविक रुपमा कांग्रेसले बढी पाउँछ । सिट दिनु र लिनुमात्र ठूलो कुरा होइन । जित्नु पनि पर्छ ।”
माओवादी केन्द्र त हिजो आफ्नै टाउकाको मोल तोक्ने शेरबहादुर देउवासँग घाँटी जोड्न पुग्यो, “कांग्रेसको पुच्छर बन्यो नि भन्ने पत्रकार धमलाको प्रश्नमा नेता पुनले भने, “हिजो के भयो भन्ने भन्दा पनि सरकार र विद्रोही दुवै पक्ष आत्मसमीक्षा गरेर शान्ति सम्झौतामा आएको होइन र ? माओवादी केन्द्रलाई कांग्रेसको पुच्छर भन्ने हो भने कांग्रेसलाई माओवादी केन्द्रको पुच्छर भन्ने कि नभन्ने कांग्रेसको पुच्छर बनेको मओवादीको पुच्छर भनन मिल्दैन ? एमाले माओवादी केन्द्रको एजेन्डा पछ्याउँदै पुच्छर बनेको हो कि होइन ?”
देउवा, प्रचण्ड र माधव नेपालको नेतृत्वमा देश बनाउन सकिने दाबी पनि पुनले गरे । उनले भने, “दलको विकल्प दल हो । नेताको विकल्प नेता हो । नेताहरु असफल भए भन्दै मुलुकलाई पछाडि फर्काउने षड्यन्त्र भएको छ । तर नयाँ अनुहार चाहियो भन्ने युवाहरुको भावनालाई पनि सम्मान गर्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्