Logo

किन नेपालका नेताहरु राजनीतिबाट सन्यास लिन चाहैदैनन्



काठमाडौं, २७ साउन । नेपालको इतिहासमा सत्ताका लागि मारकाट नै भएको धेरै घटनाहरु उल्लेख छन् । प्रधानमन्त्री बन्न आफ्नै दाजुभाईबीच काटाकाट नै चलेको राणकालीन इतिहास लिखितमै छ । सत्तामा बसेपछि छाड्न नमान्ने र पालो कुरेर बस्नेहरुले या त लखेट्ने या त हत्या गर्ने घटनाहरु धेरै घटे ।

नेपालमा लोकतन्त्र त आयो तर सत्ताको स्वाद एकपटक चाखेपछि छाड्न नमान्ने प्रवृत्ति हावी भएको छ । तानाशाहको शासन रहेका मुलुकहरुमा जस्तो निर्वाचित प्रधानमन्त्रीहरु सत्ता नै छाड्न नमान्ने प्रवृत्तिका छन् ।

२०४६ सालको परिवर्तनपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बने । २०४७ सालको अन्तरिम संविधान ल्याए र चुनावपछि प्रधानमन्त्री बन्ने प्रचार समेत भयो । तर, आफ्नै दलको अन्तर्घातबाट भट्टराई पराजित भए । त्यसपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । उनले ३ वर्ष सत्तामा रहेपछि आन्तरिक विवादका कारण मध्यावधि निर्वाचन गरे । कोइरालाले पनि पार्टीकै अर्को नेतालाई सत्ता छाड्न तयार भएनन् । बरु मध्यावधिमा देशलाई लगे ।

मध्यावधिमा काँग्रेसले धक्का खायो । एमाले सबैभन्दा ठूलो दल बनेर ९ महिने अल्पमतको सरकार बनायो । मनमोहन अधिकारी प्रधानमन्त्री बने । उनीविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेपछि संसद विघटन गराए । अधिकारी प्रधानमन्त्री पद सजिलै छाड्न तयार भएनन् । तर, अदालतले उनको मध्यावधि घोषणालाई असंवैधानिक ठहर गरिदियो ।

शेरबहादुर देउवा प्रधानमन्त्री बने । पञ्चायतमा प्रधानमन्त्री बनिसकेका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द पालैपालो प्रधानमन्त्री बने । देशमा एकपछि अर्को प्रधानमन्त्री बन्ने क्रम चल्यो । कोइराला र देउवा पटक पटक प्रधानमन्त्री बने । २०५६ मा कृष्णप्रसाद भट्टराई दोस्रोपटक प्रधानमन्त्री बने । उनलाई हट्ने अवस्था बन्यो ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहमा पनि सत्ताको महत्वाकांक्षा जाग्यो । उनले पनि मन्त्रिपरिषदको अध्यक्षको भूमिका निभाए ।

माओवादी जनयुद्ध चर्कियो । त्यसपछि देश शान्ति प्रक्रियामा गयो । गिरिजाप्रसाद कोइराला वृद्धावस्थामा फेरि प्रधानमन्त्री बने । संविधानसभाको पहिलो चुनावपछि प्रचण्ड प्रधानमन्त्री बने । प्रधानसेनापति प्रकरणले उनी राजीनामा दिन वाध्य भए ।

प्रचण्डपछि माधवकुमार नेपाल प्रधानमन्त्री बने । झलनाथ खनाल पनि प्रधानमन्त्री बने । डा. बाबुराम भट्टराई पनि प्रधानमन्त्री बने । दोस्रो संविधानसभा चुनावपछि सुशील कोइराला, केपी शर्मा ओली प्रचण्ड हुँदै शेरबहादुर देउवा प्रधानमन्त्री बने । नेताहरुबीच आलोपालो प्रधानमन्त्री हुने भद्र सहमति नै जस्तो देखियो ।

२०७४ को चुनावपछि केपी शर्मा ओली प्रधानमन्त्री बने । उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि संसद नै विघटन गरे । ओली प्रधानमन्त्री छाड्न तयार भएनन् । अदालती प्रक्रियापछि ओली हटे देउवा प्रधानमन्त्री बने ।

नेपाली राजनीतिमा यसरी प्रधानमन्त्री भएकाहरु त्यही पदका लागि मात्र दौडने र पदमा पुगेपछि सहजै नछाड्ने प्रवृत्ति देखिदैछ । बरु गणेशमान सिंहले प्रधानमन्त्री पदको प्रस्ताव नै अस्वीकार गरेको इतिहास छ ।

देशमा प्रधानमन्त्री भइसकेकामध्ये अधिकांश नेताहरु ७० कटेका छन् । लोकेन्द्रबहादुर चन्द ८० कटेका छन् । शेरबहादुर देउवा ८० पुग्न लागेका छन् । झलनाथ खनाल, माधव नेपाल र केपी शर्मा ओली ७० कटेका छन् । प्रचण्ड र डा. बाबुराम भट्टराई ७० को नजिक छन् । वृद्धभत्ता लिन उमेर पुगेका नेताहरु अझै प्रधानमन्त्रीको दौडमा छन् । उनीहरुमा राजनीतिबाट सन्यास लिने कुनै छाँटकाँट देखिदैन । नेपालमा प्रधानमन्त्री भइसकेकाहरुले बहुदलीय व्यवस्था आएपछि राजनीतिबाट सन्यास लिएको अहिलेसम्म सुनिएको छैन ।



प्रतिक्रिया दिनुहोस्