Logo

एजेन्डाविहीन गठबन्धन ‘सिस्टम फेलर’को ‘ट्रेलर’ होः मणि थापा



काठमाडौं, २८ साउन । नेकपा एमालेका नेता मणि थापाले विचारविहीन र मुद्दाविहीन गठबन्धनसँग जनताको कुनै आकर्षण नभएको बताएका छन् ।
“नेकपा एमाले कुनै गठबन्धनमा छैन । एक्लै फेस गर्ने सोचिरहेको छ । विचार, सिद्धान्त र एजेन्डा नमिल्ने दलहरुसँग तालमेल गर्नुको कुनै अर्थ छैन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले भने ।
राप्रपासँग गठबन्धन गर्नु अनुचित हुने पनि उनले औंल्याए । थापाले थपे, “चुनावमा गाह्रो होला तर पार्टीलाई नेपालको परिवर्तनलाई स्थापित गर्ने कोणबाट सोच्नु राम्रो हुन्छ । राप्रपासँग हाम्रो के एजेन्डा मिल्छ र ? संघीयता, राजसंस्था, हिन्दुराष्ट्रको कुरा गरिरहेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा गरिरहेको छ । एजेन्डा, विचार होइन जसरी पनि चुनाव जित्नुपर्छ भन्ने निष्कर्षमा एमाले फस्नुहुँदैन ।”
एमालेमा त तपाईंलगायत पूर्वमाओवादीहरुको कुनै भूमिका देखिएन नि भन्ने पत्रकार धमलाको प्रश्नमा थापाले भने, “हिजोका माओवादीको एमाले भूमिका छैन भन्ने कुरा होइन । पार्टीमा आआफ्नो जिम्मेवारी अनुसार क्रियाशील छौं । तर नेपालको राजनीतिमा मुख्य नेताहरुबाहेक कसैको भूमिका छैन । केपी ओली, शेरबहादुर देउवा, प्रचण्डबाहेक कुन नेताको भूमिका छ र ?”
पूर्वएमालेमा बसेर गल्ती नगरेको पनि उनको जिकिर छ । थापाले भने, “नेकपाको निरन्तरताका रुपमा एमाले र केपी ओलीलाई स्वीकार्नु गल्ती होइन । बरु नेकपा फुटाएर कांग्रेससँग गठबन्धन गर्नु गल्ती हो । हामी एमालेमा गएका होइनौं, प्रचण्डसहित गएका हौं ।” नेकपाको प्रथम नेतृत्व स्वीकार गरेका हौं । पूर्व माओवादी र माधव नेपालका १० भाइलाई बेवास्ता गरेर एमाले नबन्ने पनि उनको दाबी छ ।
तपाईंहरुले त एमालेमा टिकट पाउने सम्भावना देखिएन नि भन्ने पत्रकार धमलाको अर्को प्रश्नमा नेता थापाले भने, “हो, एमालेमा पनि व्यक्ति हावी छ । स्कुलिङको गाह्रोसाह्रो छ । तर टिकट मुख्य कुरा होइन, एजेन्डा ठूलो कुरा हो । टिकटदेखि टिकटसम्मको यात्राले राजनीति विकृत हुन्छ । टिकटवादी र अति टिकटवादी सोचले फाइदा गर्दैन । न्यायालय, सरकार र संसद् असफल भयो । यो सिस्टम फेलरतिर जाँदैछ । एजेन्डाविहीन गठबन्धन एउटा ट्रेलर हो । मूलधारका पार्टीहरुले आफूलाई रुपान्तरण गरेनन् भने मूलधारका पार्टीहरु किनारा लाग्ने देखेको छु ।”

 



प्रतिक्रिया दिनुहोस्