Logo

कसको को-कोसँग तालमेल हुन्छ, म भविष्यवेत्ता होइनः अनिल झा



काठमाडौं, २८ साउन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिलकुमार झाले चुनावी तालमेलका लागि विभिन्न पार्टीसँग समानान्तर संवाद भइरहेको बताएका छन् ।
“चुनावमा एकभन्दा बढी पार्टी मिलेर जाने कुरा भइरहेको छ । एकातिर गठबन्धन बनाएर जाँदा हामी पनि एक्लै जाने कुरा भएन । समानान्तर रुपमा सबैले सबैसँग कुराकानी गरिरहेका छन् । सबै दलले बढीभन्दा बढी आफ्नो हित हेर्ने हो । उचित लाग्यो भने गठबन्धनमा जाने हो, लागेन भने नजाने हो । यो आजको आजै टुंगिने कुरा पनि होइन । हाम्रो प्राथमिकता लोसपा हो, आफ्ना एजेन्डा हो । आफ्ना कार्यकर्तालाई संरक्षण गर्ने हो । कसको भित्री मनसाय के छ ? कसको कोकोसँग तालमेल हुन्छ, अहिले नै भन्न सक्ने भविष्यवेत्ता म होइन ।”
तपाईंहरु एमालेसँग मिल्ने हो कि कांग्रेसको गठबन्धनमा भन्ने प्रश्नमा झाले भने, “मैले भनिसकें, संवाद सबैसँग जारी छ । प्रधानमन्त्रीसँग र अरुसँग पनि कुरा भइरहेको छ । खाटमा र सोफामा सुत्ने श्रीमती र श्रीमतीको झगडा हो र ? राजनीति हो नि ऋषिजी । राजनीति सम्भावनै सम्भावनाको खेल हो ।”
लोसपा सरकारमा जाने कुरा के भयो भन्ने अर्को प्रश्नमा झाले भने, “लोसपा सरकारमा जाने कुरा मलाई थाहा छैन । म त विगतमा मन्त्री बनेकै हुँ । मन्त्री बन्ने हल्ला त भइरहन्छ । साथीहरुले कामना गर्नुभएको पनि होला । यस विषयमा ठोस कुराकानी भएको छैन । हामीले नागरिकता विधेयक ल्याउने, मधेस आन्दोलनका मुद्दा र गठबन्धनका बारेमा प्रधानमन्त्रीलाई भेटेका हौं ।सरकारको चर्चा पनि भएको हो । तर त्यसमा हामी तयार भएनौं वा प्रधानमन्त्री तयार हुनुभएन भन्ने कुरा होइन ।”
आगामी चुनावमा उपेन्द्र यादव, बाबुराम भट्टराईसँग तालमेल हुने सम्भावना छ कि छैन भन्ने धमलाको प्रश्नमा लोसपा नेता झाले भने, “चुनावी तालमेल सैद्धान्तिक कुरा होइन । गिभ एन्ड टेक हो । जो कसैसँग पनि तालमेल हुन सक्छ । कसैसँग पनि पानी बाराबारको अवस्था छैन । उपेन्द्रजी र बाबुरामजीबाट बेइमानी, धोका भएको छ । मधेस र देशको अहितको काम भएका छन् । हाम्रा नेता कार्यकर्तामा उहाँहरुसँग जाने कुरामा रिजर्भेसन राख्छन् । तर चुनाव हो, मिलेर जान पनि सकिन्छ ।”



प्रतिक्रिया दिनुहोस्