Logo

पार्टीका साथीहरूले न्यायोचित अवसर नपाएको स्थितिमा महाधिवेशनको मतअनुसार भागबन्डा माग्नु बाध्यता होः गुरुराज घिमिरे



काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे पार्टीमा न्यायोचित अवसरका लागि संस्थापन इतरको भेला बोलाएको बताएका छन् ।
“चौधौं महाधिवेशनपछि पनि पार्टीमा मतभेद घटेर सुमधुर सम्बन्ध कायम हुन सकेन । पार्टी सभापतिले आन्तरिक एकता सुदृढ गरेर जान खोजेको जस्तो देखिएन । त्यसकारण बेला-बेलामा भेला गर्नुपरेको हो । पार्टीका हरेक साथीलाई मलाई अवसर देऊ भन्ने हक छ । पार्टीले सबैलाई न्यायोचित अवसर दिनुपर्छ भन्नुलाई विरोध वा भाग मागेको भन्नुहुन्न । एउटा पक्षका कारण मात्र पार्टी बलियो हुन सक्दैन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले भने ।
पार्टीका साथीहरुले न्यायोचित अवसर नपाएको स्थितिमा महाधिवेशनको मतअनुसार भागबन्डा माग्नु बाध्यता हुने पनि उनले औंल्याए । घिमिरेले भने, “शेखर कोइरालाले भागबन्डाको राजनीति अन्त्य गरौं, सग्लो पार्टी बनाऊँ भनिरहनुभएको छ । तर सभापतिले उहाँलाई प्रतिस्पर्धी नै नमानिरहेको स्थिति छ । चुनावको मुखमा भातृसंस्थाहरु एकलौटी गठन गरिएको छ । पार्टी कसैको निजी सरोकारको विषय मात्र होइन । भागबन्डा त गिरिजाबाबुको पालामा शेरबहादुर देउवाले नै माग्नुभएको हो । पार्टीमा सबै समान अवसर पाउँदैनन् भने संख्याका आधारमा भागबन्डा माग्नुपर्ने हुन्छ । हार्ने र जित्नेलाई, मत हाल्ने र नहाल्नेलाई विभेद नगर भन्नु विरोध होइन । सबैले उचित अवसर नपाएको स्थितिमा महाधिवेशनको मतअनुसार भागबन्डा माग्नु बाध्यता हो । अब ६०–४० को भागबन्डामा नगएर के उपाय छ त ?”
प्रधानमन्त्री एवं पार्टी सभापति देउवालाई पार्टीको अर्को नेतालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने ऐतिहासिक अवसर भएको पनि घिमिरेले औंल्याए । उनले थपे, “हामीले महाधिवेशनमै पार्टीमा पुस्तान्तरणसहित हस्तान्तरण गरौं भनेको हो । सभापति बदल्न नसके पनि अरु पदमा नयाँ पुस्तालाई पुर्याएको छ । अबको सरकारमा नेपाली कांग्रेसको नेतृत्व दोस्रो वा अरु पुस्ताले गर्नुपर्छ । देउवासँग आफूले राम्रोसँग पार्टी सञ्चालन गर्ने र सरकारको नेतृत्व अर्को नेतालाई हस्तान्तरण गर्ने ऐतिहासिक अवसर छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot