Logo

के ३३ लाख डलर पाउन हैदीले सलमानमाथि आक्रमण गरेका हुन्



एजेन्सी, २८ साउन । भारतमा जन्मिएका ब्रिटिश लेखक सलमान रुस्दी यतिबेला मृत्युसँग लडिरहेका छन् । उनीमाथि एउटा प्रवचक कार्यक्रममा स्टेजमै सांघातिक हमला भएको थियो । २७ साउनमा भएको घटनामा रुस्दीको घाँटी र पेटमा धारिलो हतियारले प्रहार भएको थियो ।

घटनापछि रुस्दीलाई एयरलिफ्ट गरेर आकस्मिक उपचार गरियो । उनको शल्यक्रिया भयो । तर, भ्यान्टिलेटमा राखिएका विश्व चर्चित लेखकको स्थिति गम्भीर रहेको जनाइएको छ ।

७५ वर्षका रुस्दी सायदै बाहिर देखिन्थे । उनीमाथि इस्लामिक अतिवादीको आक्रमणको खतरा थियो । उनको हत्या गर्नेलाई लाखौं डलरको पुरस्कारको घोषणा इस्लामिक अतिवादी संगठन र व्यक्तिहरुले गरेका छन् । इरानको एउटा धार्मिक संगठनले ३३ लाख डलर टाउकाको मूल्य नै तोकेको छ ।

रुस्दीमाथि आक्रमण गर्ने २४ वर्षीय हैदी मटार रहेको खुलेको छ । उनी न्युजर्सीका हुन् । युवकको आक्रमणको उद्देश्यबारे अनुसन्धान भइरहेको जनाइएको छ । ती युवकले आक्रमण गर्नु र रुस्दीको टाउकाको मूल्यबीच सम्बन्ध रहे या नरहेकोबारे पनि अनुसन्धान चलिरहेको बुझिएको छ ।

रुस्दीले सन् १९८१ मा मिडनाइट्स चिल्ड्रेनका लागि बुकर प्राइज जितेका थिए । तर, सन् १९८८ मा लिखित द साटानिक भर्सेस पुस्तक प्रकाशित भएपछि इरानी धार्मिक नेता अयातुल्ला खमेनीले फतवा जारी गरेका थिए । उनको हत्याको आव्हान भयो । त्यसपछि चर्चामा आए ।

रुस्दीको पुस्तक साटानिक भर्सेस इरानलगायत कतिपय इस्लामिक देशहरुमा प्रतिबन्ध लगाइएको छ । इरानका पूर्वधार्मिक नेता अयोतुल्ला खमेनीले रुस्दीको हत्याको आव्हान नै गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्