Logo

काठमाडौं–२ मा राप्रपा आउँछ, मैले नै जित्छु : कुन्ती पोख्रेल



काठमाडौं, २८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोख्रेलले पार्टीले टिकट दिए काठमाडौं–२ मा आफूले नै जित्ने दाबी गरेकी छन् । शनिवार राजधानीमा भएको पार्टीको बृहत् भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्–‘काठमाडौं २ मा राप्रपा आउँछ, कुन्ती पोख्रेल नै आउँछ । म आशावादी छु पार्टीका अग्रजहरूले आशिर्वाद दिनुहुनेछ । यहाँ उपस्थित सबै साथीहरूलाई भन्न चाहन्छु–हाम्रो एजेन्डा स्थापित गर्न लागि परौँ । हाम्रो जित सुनिश्चित छ।’

देशका फरक विचारधारा बोकेका अन्य पार्टीहरूले पनि राप्रपाको एजेन्डा मन पराएको उनको भनाई थियो । उनले भनिन्–‘केपी ओली र प्रचण्डले पनि राजाको बयान गर्न थालेका छन् । एमाले नेता दुर्गा प्रसाईँले त खुलेरै संघीयताको काम छैन भनिसकेका छन् । अरू नेताहरू पनि बोल्न थालेका छन् । अन्त्यमा राप्रपाको एजेन्डा नै सही रहेछ भनेर प्रस्ट हुँदैछ । अरूलाई त म भन्दिनँ, नेपालमा देशप्रेमी नेता केपी ओली हो । उहाँलाई भन्न चाहन्छु आउनुहोस् देश बनाउने काममा हातेमालो गरौँ ।’

त्यस्तै उनले प्रचण्डले देश बेच्ने काम गरेको आरोप लगाईन् । नागरिकता विद्येयक पारित गराएर नेपाललाई फाइदा भन्दा बढी नोक्सान हुने उनको भनाई छ । उनले भनिन्–‘केही समय अघि प्रचण्ड भारत गएका थिए । दिल्लीमा नागरिकता विद्ययकको विषयमा केही त छलफल भयो । त्यसपछि मात्रै यो विद्येयक पारित भएको छ । यसरी खुरुखुरु नागरिकता दिने हो भने ३ करोड नेपाली ६ करोड हुन कुनै समय लाग्दैन ।’ उनले उक्त विद्येयकबाट भारतीय नागरिक देशको कार्यकारी पदसम्म पुग्ने बाटो खुला गरिएको पनि आरोप लगाईन् । उनले भनिन् ‘यसरी सहजै भारतीय नागरिकले नेपाली नागरिकता पाउने हो भने भोलि देशको कार्यकारी पदमा अरू कुनै देशको नागरिक पुग्न समय लाग्दैन । यो सोच्नुपर्ने विषय हो ।’

त्यस्तै पार्टीका पूर्व अध्यक्ष पशुपति शमशेर राणाले राप्रपालाई छैटौँ वा सातौँ पार्टी हुने छुट नभएको बताए । उनले भने ‘आजको आवश्यकता भनेको राप्रपा हो भन्ने जनताले बुझिसकेका छन् । जनता झुक्क्याउने, झुट बोल्नेहरूको खैर छैन । अब राप्रपालाई छैटौँ वा सातौँ पार्टी भएर कदापि उचित छैन । मेरो स्वास्थ्य अवस्था त्यती ठिक छैन् । कुन्तिको लागी मात्रै आएको थिएँ । सबै जना आजैबाट जोडतोडका साथ अघि बढ्नुहोस् ।‘

त्यस्तै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य पोख्रेलले उम्मेदवारीका लागि इच्छा देखाएकोमा खुसी व्यक्त गरेका छन् । उनले भने ‘म एकदमै खुसी छु, कुनै बेला उम्मेदवार नपाएर हैरान हुन्थ्यो । अब खुलेर म उम्मेदवार बन्छु भन्नेहरूको संख्या बढेको छ । पार्टीको नीति, आन्तरिक छलफल, अन्य कमिटीहरूको सिफारिस सबै हेरेर उम्मेदवार निश्चित गर्नेछौँ ।’

त्यस्तै कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री तथा पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले पोख्रेलको इच्छाको विषयमा पार्टीमा छलफल हुने बताएका छन् । उनले भने ‘मलाई खुसी लागेको छ, कुन्तीले इच्छा राख्नुभएको छ । हाम्रो पार्टीको विधान छन् त्यसमा हामी सल्लाह गर्नेछौ । उहाँको इच्छालाई सम्मान गर्दै शुभकामना दिन चाहन्छु ।’ उनले निर्वाचनको सन्दर्भलाई जोड्दै अगाडी थपे ‘हामीसँग पनि गलतलाई गलत भन्न सक्ने तागत छ भन्ने कुराको हेक्का आफूलाई ठुला पार्टी भन्नेहरूलाई देखाउने समय आउँदैछ । हामी लागि पर्नुपर्छ ।’

उनले काठमाडौं क्षेत्र नं २ पार्टीका लागी बालियो स्थानको रूपमा लिएर आफ्नो विवेक प्रयोग गर्ने अनुरोध समेत गरेका छन् । कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्षद्वय पशुपति शमशेर राणा र डा। प्रकाश चन्द्र लोहनी, पार्टीका महामन्त्रीद्वय भुवन पाठक र कुन्ती कुमारी शाही, शंकरापुर नगरपालिकाका मेयर रमेश नापित लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्