Logo

१६५ सिट पाँच दलीय गठबन्धनभित्र मात्र बाँडफाँट हुन्छ, अन्य दललाई दिन गाह्रो छः रकम चेमजोङ



काठमाडौं, २९ साउन । जनता समाजवादी पार्टी (जसपा) का रकम चेमजोङले संघीय निर्वाचनका १६५ सिट पाँच दलीय गठबन्धनभित्र मात्र बाँडफाँट हुने बताएका छन् । गठबन्धनको सिट बाँडफाँट सम्बन्धी कार्यदलका सदस्य समेत रहेका चेमजोङले गठबन्धनमा छैटौं वा सातौं दल प्रवेशको कुरा नसोचिएको पनि औंल्याए ।
नेता चेमजोङले कार्यदललाई गठबन्धनबाहेकका दलका बारेमा काम गर्ने कार्यादेश नभएको पनि बताए । “निर्वाचन घोषणा भइसकेको छ । पाँच दलीय गठबन्धन निर्वाचनसम्म जाने वक्तव्य शीर्ष नेताहरुले दिइसक्नुभएको छ । लोसपा वा समाजवादी पार्टी, गठबन्धनमा आउने कुरा एक किसिमले क्लोज भयो । अरु दललाई पनि सिट छुट्याउन शीर्ष नेताहरुले कुनै निर्देशन दिनुभएको छैन, कार्यादेश पनि छैन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने, “१६५ सिट पाँच दलीय गठबन्धनभित्र नै बाँड्ने हो । गठबन्धनका पार्टीमध्ये कसैले कसैको साथ लिन सक्छन् भने त्यो अलग कुरा हो ।” चेमजोङले चुनावी सरकारमा लोसपा जान सम्भव नदेखिएको पनि औंल्याए ।
सिट बाँडफाँटको आधार भोलि बस्ने कार्यदलको बैठकले टुंग्याउने पनि उनले बताए । चेमजोङले भने, “कार्यदलको बैठक दुईचोटि बस्यौं । बैठकमा कुनै झगडा भएको छैन । सिट बाँडफाँटको आधार खोज्दैछौं । समयमै टुंगो लगाउँछौं । समस्या आउँछन्, समाधान हुन्छ । २०७४ को निर्वाचनको सिट, समानुपातिक मत, स्थानीय तहको लोकप्रिय मत आदि आधारमा छलफल चलिरहेको छ । भोलिबाट कार्यदलले रफ्तार लिन्छ ।”
चुनावी गठबन्धन गलत नभएको पनि चेमजोङको दाबी छ । उनले थपे, “विश्वमा सबैभन्दा बढी लोकतन्त्रको अभ्यास हुने मुलुक भारत हो । त्यहाँ पनि दुइटा गठबन्धन छन् । तसर्थ यहाँ पाँच दलीय गठबन्धन गर्नु गलत होइन ।”



प्रतिक्रिया दिनुहोस्