Logo

धमलाको प्रश्नः प्रदेशको मन्त्री भएर सरकारविरुद्ध धर्नामा बस्न लाज लाग्दैन ?



काठमाडौं, २९ साउन । मधेस प्रदेशका गृहमन्त्री भरतप्रसाद साहले आजबाट संघीय सरकारविरुद्ध पहिलो चरणको आन्दोलन सुरु हुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री साहले भने, “संविधानले नै शान्ति सुरक्षा र प्रदेश प्रहरीको जिम्मा प्रदेशलाई दिएको छ । संविधानको अक्षरश पालना नगर्ने नेपाल सरकारलाई नै लाज लाग्नुपर्ने हो । हामीले मधेसका जनता र उत्पीडित जनताका पक्षमा आन्दोलन गर्न लागेको हो । यो मेरो व्यक्तिगत आन्दोलन होइन, मधेस सरकारकै आन्दोलन हो ।”
प्रदेश प्रहरी र शान्ति सुरक्षाको जिम्मा प्रदेशलाई नदिएसम्म आन्दोलन जारी रहने पनि उनले बताए । मन्त्री साहले थपे, “एक सप्ताहका लागि प्रदेश प्रमुखको कार्यालयमा टेन्ट हालेर धर्ना बस्छौं । मन्त्री र सांसदहरु पालोपालो धर्ना बस्छन् । आन्दोलनमा माओवादी, कांग्रेस, एमाले, जसपा, लोसपा सबैको समर्थन छ ।” एक सातासम्म समस्या समाधान नभए कडा आन्दोलनमा जाने चेतावनी पनि उनले दिए ।
सरकारमा बसेर सरकारविरोधी आन्दोलन गर्न सुहाउँछ भन्ने पत्रकार धमलाको प्रश्नमा मन्त्री साहले भने, “आन्दोलनकारी म होइन, प्रदेश सरकार हो । हामीले सरकारमै बसेर आन्दोलन गर्न सक्छौं । प्रदेशका जनताले राजीनामा दिन भन्छन् भने म तयार छु ।”
राष्ट्रपति विद्यादेवी भण्डारी संघीयताविरोधीको फन्दामा परेको आरोप पनि प्रदेश मन्त्री साहले लगाए । उनले भने, “नागरिकता विधेयकमा राष्ट्रपतिले राजनीति गर्न खोज्नुभएको छ । बाबु नागरिक हुने, छोराछोरी नागरिक नहुने ? यस्तो पनि हुन्छ ?”

 



प्रतिक्रिया दिनुहोस्