Logo

अनुमती लिएका झन्डै आधाले मात्रै पुरा गरे आरोहण



काठमाडौं, साउन २९। वसन्त ऋतुमा ४५८ जनाले विभिन्न हिमालको आरोहण गरेका छन् । यो सिजनमा हिमाल आरोहणका लागि नेपालसहित ७४ देशका १२३ समूहमा ९८६ जनाले अनुमति लिएका थिए ।

पर्यटन विभागका अनुसार आरोहणका लागि अनुमति लिएका २७ हिमालमध्ये यो वसन्त १४ हिमालमा मात्रै सफल आरोहण भएको छ । सरकारले अहिलेसम्म ४१४ हिमाल आरोहणका लागि खुला गरेको छ । उक्त १४ हिमालमध्ये सबैभन्दा बढी सगरमाथामा २४० जनाले आरोहण गरेका छन् ।

त्यस्तैगरी ल्होत्सेमा ६७, मकालुमा ३८, कञ्चनजङ्घामा ३८, अमादब्लममा १८, धौलागिरिमा १७, अन्नपूर्ण पहिलोमा १५, थापा पिक (धुम्पस)मा सात, हिमलुङमा छ, फु खाङमा पाँच, खाङचुङमा दुई, सौलामा दुई, उर्कमाङमा दुई र सरीबुङमा एक जनाले सफल आरोहण गरेका हुन् । वसन्तयामको आरोहणका लागि सगरमाथामा मात्रै ७४ महिला र २५१ जना पुरुष गरी ३२५ जनाले आरोहण अनुमति लिएका थिए ।

हिमाल आरोहणबाट सरकारले यो याममा ५३ करोड ३५ लाख ३१ हजार ५३५ रूपियाँ दस्तुर सङ्कलन गरेको छ । सगरमाथा आरोहणमा जानेबाट मात्रै ४० करोड ७७ लाख रुपियाँ सङ्कलन भएको छ ।

सरकारले विदेशीका लागि सगरमाथा आरोहण गर्न वसन्त ऋतुमा प्रतिव्यक्ति एक हजार एक सय, शरदमा पाँच हजार पाँच सय र अन्य सिजनमा दुई हजार ७५० अमेरिकी डलर शुल्क तोकेको छ । नेपालीका लागि भने वसन्त ऋतुमा प्रतिव्यक्ति ७५ हजार, शरदमा ३७ हजार पाँच सय र अन्य सिजनमा १८ हजार २५० रुपियाँ शुल्क तोेकको छ ।

यस्तैगरी सगरमाथाबाहेक आठ हजार मिटरसम्मका अन्य हिमालमा विदेशी नागरिकलाई वसन्त ऋतुमा एक हजार आठ सय, शरदमा नौ सय र अन्य सिजनमा ४५० अमेरिकी डलर शुल्क लिने गरेको छ । नेपालीलाई भने यी हिमालमा क्रमशः १० हजार, पाँच हजार र २५ सय रुपियाँ रोयल्टी तोकिएको छ । आठ हजार मिटरमुनिका हिमालका लागि अझ कम रोयल्टी तिरेर हिमाल आरोहण गर्न सकिन्छ ।

यस वर्ष हिमाल आरोहण गर्न सबैभन्दा बढी अमेरिका, बेलायत, भारत, फ्रान्स, क्यानडा, अस्ट्रेलिया, रुस र चीनबाट आरोही नेपाल आएका थिए । पर्यटन विभागले आरोहणलाई मर्यादित बनाउन यस वर्ष १०५ जना सम्पर्क अधिकृतलाई खटाएको थियो ।

वैशाख २४ गते विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाको नेतृत्वमा नेपाली आरोहीले सगरमाथाको शिखरसम्म ‘रोप फिक्सिङ’ गर्न ११ जनाको टोली सगरमाथाको चुचुरोमा पुगेसँगै यो वर्षको आरोहण सुरु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्