Logo

उपत्यकाको फोहोर सडकमा छरपस्ट



काठमाडौं, साउन २९ । उपत्यकामा शनिबार दिनभरि बेलाबेला गरी तीन पटक पानी प(यो। जति पटक पानी पर्दै गयो, त्यति नै पटक फोहोर सडकमा छरपस्ट भयो। यो क्रम शनिबारको मात्र होइन, एक महिनायता काठमाडौँ उपत्यकामा जुन दिन पानी पर्छ, यस्तो दृश्य सधैँ देखिँदै आएको छ।

उपत्यकामा हरेक सडक र चोकमा फोहोरको डुङ्गुर लागेको छ। फोहोर सडेर आएको दुर्गन्धले वरपर घरका झ्याल, ढोका थुन्नुपर्ने अवस्था सिर्जना भएको छ। फोहोर कहिले उठ्ने हो, अझै टुङ्गो छैन।

अहिले फोहोर नथुपारिएको चोक र सडक विरलै पाइन्छ। कहिले पासाङल्हामु राजमार्गअन्तर्गतको मुड्खुभञ्ज्याङदेखि तीनपिपलेसम्मका बासिन्दाको अवरोध त कहिले सिसडोलवासी र ककनीवासीको आन्दोलनले उपत्यकाको फोहोर उठ्न नसकेको जानकारी काठमाडौँ महानगरपालिकाले दिने गरेको छ।

महानगरपालिकाले कहिले फोहोर बोक्ने गाडी अभाव त कहिले वर्षाका कारण बाटो हिलाम्मे हुँदा काठमाडौँ उपत्यकामा फोहोर थुप्रिनु र वातावरण दुर्गन्धित बन्ने गरेको फरक–फरक दाबी गर्ने गरेको छ।

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहका फोहोर व्यवस्थापन सल्लाहकार सुनील लम्सालले महानगरका कारणले नभई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयका कारणले फोहोर उठ्न नसकेको बताए।

ती निकायले बालाजुदेखि सिसडोल र बन्चरेडाँडासम्म सडक निर्माण गर्न नसक्दा पटक–पटक फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको उनले दाबी गरे। उनले भने, “काठमाडौँ महानगरको काम फोहोर सङ्कलन गरी ल्यान्डफिलसाइटसम्म पु(याउनु हो। सडक निर्माण, ल्यान्डफिलसाइट क्षेत्रका स्थानीयवासीको माग पूरा गर्ने काम अरू निकायको हो।” गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्