Logo

आर्सनलको जीतमा जेसस नायक



एजेन्सी । ब्राजिलियन फरवार्ड गाब्रियल जेससले दुई गोल गर्दै दुई एसिस्ट प्रदान गरेपछि लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सहज जीत निकालेको छ । शनिबार बेलुकी सम्पन्न खेलमा लेस्चर सिटीलाई ४-२ गोलले पराजित गर्दै आर्सनलले लिगमा उत्कृष्ट लयलाई निरन्तरता दिएको हो ।

घरेलु मैदान इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनललाई जित दिलाउन जेससले दुई गोल गर्दा ग्रानिट जाका र गाब्रियल मार्टिनेलीले समान एक/एक गोल गरे । लेस्चरको लागि जेम्स म्याडिसनले एक गोल गर्दा एक गोल उपहार पाएको हो । २३ औं मिनेटमा जाकाको पासमा जेससले गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।

५३ औं मिनेटमा विलियम सालिबाले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि लेस्चरले खेलमा फर्किने संकेत देखाएको थियो । तर दुई मिनेट बित्न नपाउँदै जेससको पासमा जाकाले गोल गर्दै आर्सनललाई ३-१ गोलको अग्रता दिलाए । ७४ औं मिनरमा इहेनाचोको पासमा म्याडिसनले गोल गर्दै लेस्चरलाई ३-२ गोलको स्थितिमा ल्याए ।

लगत्तै ७५ औं मिनेटमा जेससकै पासमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई ४-२ गोलको जीत दिलाएका हुन् । जीतसँगै आर्सनल दुई खेलबाट ६ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । पराजित लेस्चर समान खेलबाट १ अंकको साथ १४ औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्