Logo

युनाइटेडको लज्जास्पद हार



एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डसँग ४-० गोलको पराजित भएसँगै युनाइटेडले लिगमा लगातार दोस्रो हार बेहोरेको हो ।

ब्रेन्टफोर्ड कमिटी रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जीत दिलाउन जोशुआ डासिल्भा, माथिएस जेन्सेन, बेन मी र ब्रायन म्बेउमोले एक/एक गोल गरे । युनाइटेडले पहिलो हाफमै चार गोल बेहोरेको हो । खेलको दसौं मिनेटमै जेन्सेनको पासमा डासिल्भाले गोल गर्दै ब्रेन्टफोर्डलाई शुरुवाती अग्रता दिलाएका थिए । १८ औं मिनेटमा जेन्सेनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । ३० औं मिनेटमा टोनीको क्रसमा मीले गोल गर्दा ब्रेन्टफोर्डले खेलमा ३-० गोलको अग्रता लिएको थियो ।

३५ औं मिनेटमा टोनीकै पासमा म्बेउमोले गोल गर्दै ब्रेन्टफोर्डलाई फराकिलो जीततर्फ अगाडि बढाएका थिए । दोस्रो हाफमा युनाइटेडले तुलात्मक रुपमा सुधारिएको प्रदर्शन गरेपनि गोल गर्न नसक्दा ४-० गोलको फराकिलो हार बेहोरेको हो । यससँगै टेन हाक १ सय १ वर्षपछि लिगको शुरुवाती दुई खेलमा पराजीत हुने पहिलो युनाइटेडका मुख्य प्रशिक्षक बनेका छन् ।

जीतसँगै ब्रेन्टफोर्ड २ खेलबाट ४ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित युनाइटेड २ खेलमा अंकविहीन रहँदै लिगको पुछारमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्