Logo

महन्थले देउवालाई भोलिसम्म पर्खने, नत्र एमालेसँग सहकार्यको हात बढाउने तयारी



काठमाडौं, २९ साउन । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले कांग्रेस सभापति एव्म प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा सहभागी हुने विषयमा भोलिसम्म मात्रै पर्खने अल्टिमेटम दिएका छन् ।

चुनावको मुखमा लोसपा सत्तारोहणको तयारीमा जुटेको छ । तर, प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा सहभागी गराउन ढिलाई गरेकोले अध्यक्ष ठाकुरले असन्तुष्टि पोखेका छन् ।

ठाकुरसहितका शीर्ष नेताहरुले प्रधानमन्त्री देउवालाई भेटेर भोलिसम्म सरकारमा सहभागी हुने वातावरण नबनाए सरकारमा नजाने र कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल नहुने सन्देश दिएका छन् ।

ठाकुरले त कांग्रेस सभापति देउवालाई आफूहरुको माग सुनुवाईमा चासो नदेखाए आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि एमालेसँग सहकार्य गर्ने जवाफ दिइसकेका छन् ।

लोसपाबाट अनिल झाल र शरदसिंह भण्डारी सरकारमा सहभागी हुने चर्चा चलेको छ । तर, लोसपालाई सरकारमा सहभागी हुन नदिनको लागि माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का अध्यक्षहरु प्रचण्ड र माधव नेपाल सकारात्मक भएपनि गठबन्धनको अर्को घटक जसपाका अध्यक्ष उपेन्द्र यादव अनुदार देखिएका छन् ।

देउवाले पनि आज साँझसम्म लोसपालाई सरकारमा सहभागी गराउने वा के गर्ने भन्नेबारे निर्णय लिने बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्