Logo

कैलाली–५ बाट माओवादीका युवा नेता शंकर लुहारद्वारा उम्मेदवारी घोषणा



काठमाडौं, २९ साउन । आगामी मंसिरमा हुने संघीय चुनावमा नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य तथा युवा नेता शंकर लुहार(धुगाल)ले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै लुहारले कैलाली क्षेत्र नम्बर ५ बाट गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने बताएका हुन् । उनले आफुले बहुमतसहित विजयी प्राप्ती गर्ने दाबी गरे ।

दलित मुक्ति मोर्चा केन्द्रिय सदस्य समेत रहेका लुहारले आफु निर्वाचित भएसँगै सेती नदी उत्खनन गर्ने सबैभन्दा पहिलो आफ्नो काम गर्ने प्रतिवद्धता जाहेर गरे । उनले जडिबुटी नेपालमा धेरै भएको उल्लेख गर्दै जडिबुटी प्रसोधन गर्ने आफ्नो लक्ष्य रहेको सुनाए । उनले भने,‘जडिबुटी र सुनखानी उत्खनन गर्ने, गरिब, पीडित वर्गहरुको हक अधिकारपनि सुनिश्चित गर्नेछु ।’

नेता लुहारले धनगढी महानगरपालिकाभित्र आजसम्म विभिन्न व्यक्तित्वहरुले राजनीति गरेपनि उनीहरुले साच्चीकै सर्वहारा वर्गको समस्या समेट्न नसकेको टिप्पणी गरे ।

आफु निर्वाचित भएर आएमा मात्र राष्ट्रिय सभामा सुनखानीको सुन उत्खननको आवाज आफुले उठाउने बताए । उनले भने,‘सेती नदीको बालुवामा भेटिने सुन मुलमै कति होला त ? आफै सोच्नुस । सेती नदीको सुन उत्खनन गर्ने जिम्मेवारी म लिन्छु । विश्वका कुनै पनि देशका नागरिकहरुलाई हाम्रो देशमा आउन बाध्य बनाउने छु, भारत लगायत जुनसुकै स्थानमा काम गर्दै आएकाहरुलाई आफ्नो ठाउँमा रोजगारी सृजना गरेर साच्चीकै स्वीजरल्याण्ड बनाउने प्रण गर्दै आजको मितिबाट उम्मेदवारी घोषणा गर्दछु ।’

उनले मतदाताहरुले आफुलाई मत दिनेमा विश्वस्त रहेको बताए । उनले आफ्नो पार्टी माओवादीको भागमा परेन भने पनि दाबी गर्नेे तर स्वतन्त्रबाट भने उम्मेदवारी नदिने स्पष्ट पारे ।

 



प्रतिक्रिया दिनुहोस्