Logo

‘धर्मनीरपेक्ष पक्षधर’ नेताहरुको धमाधम बदलियो अवतार



काठमाडौं, २९ साउन । नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले १४औं महाधिवेशन अघि धर्मनीरपेक्षको बचाऊ गर्दा भक्तपुरमा आयोजित पार्टी कार्यक्रममा आफ्नै कार्यकर्ताबाट विरोधको सामना गर्नुपरेको थियो । निधिले धर्मनीरपेक्षको बचाऊ गरिरहे । तर, सभापतिको उम्मेदवारी घोषणा गर्दा भने उनले धार्मिक गुरुहरुलाई बोलाएर नयाँ सन्देश दिए ।

निधिले अयोध्याको यात्रा गरे । आज जनकपुरमा धार्मिक कार्यक्रममा सहभागी जनाउँदा उनको वस्त्र सन्देशमूलक थियो । पछिल्लो समय उनी टीका र गेरु वस्त्रमा बढी देखिन्छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि ईश्वरको नाममा सपथ लिन मानेनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउँदा ईश्वरको नाममा भन्दा उनले त्यो पर्दैन भने । उक्त भिडियो भाइरल नै भयो । ओलीले कहिले श्रीराम नेपालका र अयोध्या नेपालको भने त ऋषिमुनीहरु नेपालमै जन्मिएका भने । तर, उनले आफूलाई नास्तिक पनि देखाइरहे । पछिल्लो समयमा भने ओली पशुपतिनाथमा जान थालेका छन् ।

ओली प्रधानमन्त्री हुँदै पशुपतिनाथ गए । उनकै पालामा सुनको जलहरी चढाउने निर्णय सरकारले गरेको थियो । हालै ओली पशुपतिनाथको आरतीमा सहभागी भए ।

नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि धर्मनीरपेक्षका पक्षमा बोलिरहे । तर, पछिल्लो समय उनी पनि धार्मिक गतिविधिमा देखिन थालेका छन् । उनी पनि पशुपति आरतीमा सहभागी भए ।

काँग्रेस सभापति शेरबहादुर देउवाले केही वर्ष अघि बुढानिलकण्ठस्थित निवासमा महायज्ञ नै लगाए । उनी भारत भ्रमणमा पनि धार्मिक स्थानमा पुगे । देउवा पत्नी आरजु देउवा धार्मिक गतिविधिमा बढी सक्रिय भइरहेकी छिन् ।

नेकपा एमालेका नेता महेश बस्नेत पनि धार्मिक गतिविधिमा बढी सक्रिय हुन थालेका छन् । उनले गेरु वस्त्र र पूजापाठ गरेको तस्बिर सार्वजनिक हुँदै आएको छ । बस्नेत भारतको तीर्थस्थल पुगेका थिए ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि धार्मिक गतिविधिमा बढी देखिन थालेका छन् । उनी केही महिना अघि पत्नीसहित पशुपतिनाथ पुगेर दर्शन गरेका थिए । रौतहटमा आयोजित धार्मक कार्यक्रममा पनि सहभागी भए ।

मधेशका नेताहरुमा बढी धर्मकर्म गरेको सन्देश प्रवाह गर्ने प्रतिष्पर्धा नै चलेको छ । उनीहरु गरुवस्त्रमा सार्वजनिक कार्यक्रममा देखिने गर्छन् । यसमा महन्थ ठाकुर अग्रस्थानमा छन् ।

पछिल्लो समय धर्मको सेन्टिमेन्टलाई मध्यनजर गर्दै नेताहरुले धार्मिक गतिविधिमा आफूलाई सक्रिय बनाइरहेका छन् । उनीहरु हिन्दू र बौद्ध धर्मालम्बीको मत लिने रणनीतिका साथ लागेका छन् । विशेषगरी हिन्दू मतदातालाई आकर्षित गर्न धार्मिक गतिविधिमा देखिन थालेका हुन् ।



प्रतिक्रिया दिनुहोस्