Logo

काठमाडौंको फोहोर व्यवस्थापनमा सकस



काठमाडौं, साउन ३० । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाउन थालिएको छ । आइतबारदेखि फोहोर उठाउन थालिए पनि थरीथरीका समस्या र ठाउँठाउँमा सिर्जना भएको अवरोधले फोहोर बोकेका एउटा पनि ट्रक ल्यान्डफिल्ड साइट पुग्न सकेका छैनन् ।

काठमाडौंको फोहोर व्यवस्थापन गर्न फोहोर बोकेका ट्रकलाई आइतबार काठमाडौं तारकेश्वर नगरपालिका–३ का स्थानीयले नै अवरोध गरे । खानेपानीको मुहानमा फोहोर फालेको भन्दै गाडी रोकेपछि बन्चरेडाँडा गएको गाडी बाटैमा रोकिए ।

फोहोर फाल्नेहरूलाई कारबाही गर्न माग गर्दै सडक अवरुद्ध गरेपछि काठमाडौंबाट फोहोर लिएर गएका टिपर बन्चरेडाँडा जान रोकिएका थिए । फोहोर हटाउने र जनप्रतिनिधि तथा प्रहरीको सक्रियतामा फोहोर फाल्ने चालकको पहिचान गरी कारबाही प्रक्रिया अगाडि बढेपछि अवरोध हट्यो ।

काठमाडौंको अवरोध हटे पनि लगत्तै ककनी गाउँपालिकास्थित कागती गाउँमा गाडीको ठक्करबाट बाख्रा मरेको भन्दै आइतबार नै फेरि अवरोध सिर्जना भयो । बाख्राको क्षतिपूर्ति दिने सहमतिपछि सो ठाउँको अवरोध हटे पनि फोहोर बोकेका ट्रकबीच बाटैमा रोकिएका छन् ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बन्चरेडाँडामा स्काभेटर नभई फोहोर फाल्न नसक्ने अवस्था रहेको र सोमबार बिहान मात्र स्काभेटर पुगेपछि फोहोर विसर्जन थालिने बताए । उनका अनुसार फोहोर बोकेका १ सयवटा टिपर अहिले बाटोमा नै रोकिएका छन् ।

स्काभेटर पुगेपछि फोहोर विसर्जन सुरु गरिने महानगरपालिकाले जनाएपछि सोमबार फोहोर बोकेका गाडी बन्चरेडाँडा पुग्न सक्नेमा भने अझै शंका बाँकी नै छन् ।

धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केन्द्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै बन्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेपछि समस्या बढ्ने देखिएको हो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्