Logo

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध तत्काल महाभियोग लगाउनुपर्छः जसपा नेता



काठमाडौं, ३० साउन । जनता समाजवादी पार्टी (जसपा) नेता मनीषकुमार सुमनले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो संवैधानिक अधिकारको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
“राष्ट्रपतिको कदम महाअशिष्ट, अशोभनीय र असंवैधानिक हो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले मध्यरात ११ बजे यही विधेयकको सेरोफेरोमा अध्यादेश बनाएर पठाउँदा प्रमाणीकरण गर्न १५ मिनेट पनि लागेको थिएन । अहिले दुवै सदनले आफ्नो विधि र प्रक्रिया अनुसार पारित गरेर पठाउँदा १५ दिनसम्म अध्ययनको नाममा राखेर फिर्ता पठाई नेपाली जनताको अपमान हुने काम गर्नुभएको छ । उहाँले एकल नश्लीय चरित्र र कार्यकर्ताको भूमिका निर्वाह गर्नुभयो,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले भने ।
राष्ट्रपति भण्डारीको नियतमा नै खोट भएको आरोप पनि उनले लगाए । सुमनले भने, “राष्ट्रपति तीन करोडको अभिभावकभन्दा पनि केही दलको अभिभावक बन्नुभएको छ । हामीले के स्वीकार्नुपर्छ भने हामीले एक जना कुपात्रलाई राष्ट्रपति चुनेका थियौं । देशका पाँच लाख युवा पछिल्लो आठ वर्षदेखि नागरिकताविहीन अवस्थामा छन् । त्यस अभावमा जन्मदर्ता, मृत्युदर्ता समेत हुन सकेको छैन । उहाँ एमालेको कार्यकर्ता हो । एमाले ‘हा’ भन्दा ‘हा’ भन्नुभयो ।”
आफू पदीय मर्यादा राख्न नसक्ने राष्ट्रपति भण्डारीविरुद्ध तत्काल महाभियोग लगाउनुपर्छ भन्ने पक्षमा रहेको सुमनले औंल्याए । उनले थपे, “देशको समस्यालाई नजरअन्दाज गरेर विधेयक फिर्ता पठाएको आडमा उहाँविरुद्ध महाभियोग महाभियोग लगाउनु अनुचित हुँदैन ।” तर संसदको कार्यकाल छोटो भएकाले त्यो विचारणीय रहेको पनि उनको धारणा छ ।

मधेस प्रदेश सभाका सांसद समेत रहेका सुमनले केन्द्र सरकारविरुद्ध प्रदेश सरकारको धर्ना हास्यास्पद रहेको पनि बताए । उनले थपे, “धर्ना वा विरोध कार्यक्रमको स्वामित्व म लिन्नँ । प्रदेश सभाको संसदीय दलमा पनि यो विषय उठेको छैन । हाम्रै साथीहरु सरकारमा छन् । सीधै दलसँग कुरा गरे हुन्थ्यो । निषेधित क्षेत्रमा प्रदेश सरकारले नै आधुनिक तम्बो बनाएर धर्ना दिने कुरामा म सहमत छैन ।”



प्रतिक्रिया दिनुहोस्