Logo

निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने माग



काठमाडौँ ३० साउन । श्रीमानको उपचारमा सात लाख रुपैयाँ खर्च भयो । तर पनि रोग निको नभएको बाँके बैजनाथ गाउँपालिका ३ कि शर्मिला थारुको गुनासो छ ।

शर्मिलाका श्रीमान्लाई सिकलसेल एनिमिया भएको छ । यो रोगको उपचार खर्चिलो छ । यो रोग लागेमा पोषणयुक्त खानपान र रहनसहन व्यवस्थित गर्न सकियो भने सामान्य जीवन भने बाँच्न सकिने चिकित्सकको भनाइ छ ।
थारु समुदायमा देखिएको यो वंशाणुगत सर्ने रोग हो । यो श्रीमान्बाट श्रीमतीमा सर्दैन तर उनीहरुबाट जन्मेको बच्चामा सर्ने सम्भावना अधिक हुन्छ । विशेषतः नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका थारु समुदायमा यो रोग बढी देखिएको छ ।

“ यो एक प्रकारको रक्तअल्पता भएपनि अलि कडा खालको हुन्छ”, भेरी अञ्चल अस्पतालका डा राजन पाण्डे बताउँछन् । जीवनभर औषधि खाइरहनुपर्ने भएकाले यसका बिरामीलाई सरकारले निःशुल्क उपचार र औषधिको व्यवस्था मिलाउनुपर्ने बर्दिया बाँसगढीका पूर्णबहादुर थारुको माग छ ।

त्यसो त सरकारले यो रोगको परीक्षण र उपचारका लागि भेरी, सेती अञ्चललगायतका अस्पतालमा आवश्यक व्यवस्था मिलाएको छ । यसैगरी, निजीअन्र्तगत बाँकेको मेडिकल कलेज कोहलपुर, नेपालगञ्जको सिद्धार्थ अस्पताल र कैलालीको घोडाघोडी अस्पतालमा पनि यो रोगका उपचार हुन्छ ।

“सन्तुलित खानपान र बेलाबेला आप्mनो स्वास्थ्य जाँच गराइरहनुपर्दछ । यति मात्र गर्न सकियो भने यो रोगका व्यक्ति सामान्य जीवन बाँच्न सक्छन्”, भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मी पुष्पा कँडेलको सल्लाह छ ।

डा पाण्डेका अनुसार यो रोगको उपचारका क्रममा अहिलेसम्म १२ जनाले ज्यान गुमाइसकेका छन् । भेरी अञ्चल अस्पतालमा मात्रै अहिले दुई सय १५ जनाको उपचार भइरहेको छ । तथ्याङ्क अनुसार पश्चिम नेपालका करिब चार हजार थारुमा यो रोग देखा परेको छ ।

यो रोग अहिले विस्तारै योगी, बिसी र रैदास जातिमा पनि देखा पर्न थालेको छ । यसको रोकथामका लागि सरकारले छुट्टै नीति निर्माण गरी विशेष कार्यक्रम लागू गर्नुपर्ने सुझाव डा पाण्डेको छ । सरकारले रु एक लाख उपचारमा दिने गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्