Logo

भारतीय दूतावासले यसरी मनायो ७६ औं स्वतन्त्रता दिवस



काठमाडौं, ३० साउन । भारतले आज ७६औं स्वतन्त्रता दिवस मनाएको छ । यस अवसरमा भारतीय राजदूतावास, काठमाडौंले विविध कार्यक्रम आयोजना गरेको छ ।

भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा कार्यक्रम रहेको जनाएको छ ।

भारतीय दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन गरेर कार्यक्रमको आरम्भ गरेपछि भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा आफ्नो देशको नाममा गरेको सम्बोधन पढेर सुनाएका थिए ।

भारतको स्वतन्त्रताको खातिर त्यहाँका स्वतन्त्र सेनानीहरुले गरेको बलिदानको सम्झना गर्दै मुर्मूले भारतले हासिल गरेको उपलब्धिहरुको चर्चा गरेकी छिन् । भारतका राष्ट्रवादी कवि कुवेम्पुलाई उदृत गर्दै मातृभूमि र भारतीय नागरिकको उत्थानका लागि भारतका युवालाई पूर्ण रुपमा समर्पित भई अघि बढ्न आह्वान गरिन् ।

कार्यक्रममा दूतावासले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारहरुलाई २ करोड ६५ लाख प्रदान गरी सम्मान गर्यो ।

दूतावासले आजादीका अमृत महोत्सव हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गर्यो । भारत बाहिर रहेका भारतीय युवा र विदेशी नागरिकलाई भारतबारे जानकारी थाहा पाउन प्ररित गर्ने उद्देश्यले भारत सरकार विदेश मन्त्रालयले सो हाजिरीजवाफको आयोजना गरेको थियो ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत लगायतका प्रस्तुति प्रस्तुत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्