Logo

जब देउवालाई गगन थापाले दिए चुनाव नलड्ने चेतावनी



काठमाडौं, ३० साउन । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिदै गर्दा नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भने आन्तरिक व्यवस्थापन चुनौती बनेको छ । उनीसँग सभापतिमा पराजित डा. शेखर कोइराला समूह एकजुट भई दबाब बढाउन थालेको छ । कोइराला समूहले ४० प्रतिशत सुनिश्चितताको माग राखिसकेको छ ।

सत्ता गठबन्धनमा काँग्रेसले प्रतिनिधि सभामा १६५ प्रत्यक्षतर्फको सिटमा १०० सिट दाबी गरेको छ । त्यसमा उसले अधिकतम पाउने ८५ सिट हुनसक्ने चर्चा छ । त्यसको ४० प्रतिशत भनेको ३४ सिट हुन्छ ।

देउवालाई रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा. सशांक कोइरालालाई समेत मनाउनुपर्ने वाध्यता छ । अर्कोतर्फ, नयाँ गुटका रुपमा गगन थापा समूह बलियो गरी बढेको छ ।

पार्टीभित्रबाट दबाब बढेपछि देउवाले २९ साउनमा शेखर कोइराला, गगन थापालगायतका नेताहरुसँग भेटे । कोइरालाले ४० प्रतिशत आफ्नो पक्षलाई सिट दिनुपर्ने विषय राखे । भातृसंगठनहरुमा एकलौटी गरेको विषय पनि उठाए । देउवाले सबैलाई मिलाएर लाने भने ।

महामन्त्री गगन थापाले आफूहरुले मात्र टिकट पाउने र पार्टीमा लामो त्याग गरेकाहरुले नपाउने भएमा ब्याक हुने बताए । उनले आफूहरु पनि चुनाव नलड्ने अवस्था नआओसे भनेपछि देउवाले मिलाएर लाने कुरा गरे । थापाले भातृ संगठनहरुमा लिएका निर्णयहरुमा बेवास्ता गरेको विषय पनि उठाए ।

देउवाप्रति शेखर कोइराला र गगन थापा दुवै विश्वस्त हुन सकेका छैनन् । शेखर कोइरालाले विद्रोहको कुरा उठाएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेका छन् । देउवाले यसबारे पनि चासो राखेको बुझिएको छ । विद्रोह गरेमा ओलीसँग मिल्ने सम्मको अवस्था आउने भन्दै शेखर समूहले सम्भावनाका ढोकाहरु खुल्ला राखेको देखिन्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्