Logo

एमालेलाई पाँच दलले मात्र हराउन सकिँदैन भनेर नौ दलीय गठबन्धन बनाउन खोजिँदै छः विशाल भट्टराई



काठमाडौं, ३१ साउन । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम स्वागतयोग्य भएको बताएका छन् । राष्ट्रपतिले संविधानको पालना र राष्ट्रको हित हेरेको उनको जिकिर छ ।
“राष्ट्रपतिले नागरिकता विधेयकमा पुनःविचारका लागि फिर्ता गरेर असाध्यै राम्रो काम गर्नुभयो । ठूलो संख्यामा जनताको समर्थन छ । यो राष्ट्रको हितमा हुन्न भनेर उहाँले संविधानको पालना गर्नुभएको हो, आफ्नो अधिकार दुरुपयोग गर्नुभएको होइन । यसबीचमा उहाँले विभिन्न राजनीतिक दल, प्रधानमन्त्री, कानुनमन्त्री र महान्यायाधिवक्तासँग परामर्श पनि गर्नुभएको थियो,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको हुबहु अध्यादेशचाहिँ उहाँले सरुक्क प्रमाणीकरण गर्नुभएको होइन भन्ने पत्रकार धमलाको प्रश्नमा भट्टराईले भने, “नेकपा एमालेले ३३ वटा संशोधन हाल्दा गठबन्धनले विवेकभन्दा जबर्जस्ती बहुमत लाद्यो । हो, उहाँले केपी ओलीले ल्याएको नागरिकता अध्यादेश प्रमाणीकरण गर्नुभयो । अध्यादेश फिर्ता गर्ने प्रावधान नै थिएन । त्यसकारण गर्नुभएन ।”
नागरिकता विधेयकले देशमा खतरा निम्त्याउने पनि उनको जिकिर छ । भट्टराईले भने, “वैवाहिक अंगीकृतको हकमा भारतमा ७ वर्ष, श्रीलंकामा १५ वर्ष, भुटानमा १५ वर्ष छ । नेपालमा आज विवाह, भोलि नागरिकता, पछि उम्मेदवार बन्ने प्रावधान ल्याएर कसको सेवा गरेको हो ? भारतको सरह बनाउँदा के फरक पर्ला र ? त्यसैल राष्ट्रपतिले देशलाई खतरामा जानबाट रोक्नुभएको हो ।”
तपाईंहरु भारतको कुरा मात्र गर्नुहुन्छ, चीनको कुरा किन गर्नुहुन्न भन्ने पत्रकार धमलाको प्रश्नमा एमाले नेता भट्टराईले भने, “नेपालको तीनतिर खुला सिमाना छ । बिहेवारी धेरै चलेको छ । गठबन्धनका नेताहरु कसैबाट वशीभूत हुनुहुन्छ, कसमै खाएर आउनुभएको देखियो । उहाँहरु किन त्यसरी के कारणले झुक्नुभएको हो ? कहिल्यै भेट नहुने जस्तो गरेर आरजु देउवा भारत गएको मौकामा भारतीय पक्षलाई साक्षी राखेर यता आएर विधेयक ल्याइन्छ भने देशप्रति त्योभन्दा ठूलो धोका अरु के हुन सक्छ ?” अब नागरिकता विधेयक फास्टट्रयाकबाट नभएर शून्यबाट सुरु हुने उनले औंल्याए ।
एमालेलाई पाँच दलले मात्र हराउन सकिँदैन भनेर नौ दलको गठबन्धन बनाउन खोजिएको आरोप पनि भट्टराईले लगाए । उनले भने, “शेरबहादुर देउवाले जम्मै दललाई भेला पार्नुभयो, अझै पनि एमालेलाई हराउन सकिँदैन कि भनेर अब ९ वटा पुर्याउने खोजिरहनुभएको छ । तर गठबन्धनलाई हराएर एमालेले बहुमत ल्याउँछ ।” अर्को प्रसंगमा उनले द्वन्द्वपीडितको समस्या समाधान गर्न विधेयक संशोधनमा एमालेले अग्रसरता लिने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्