Logo

राजकिशोर यादवलाई धमलाको प्रश्नः “तपाईंले जसपा त छाड्नुभएको छैन है !”



काठमाडौं, ३१ साउन । जनता समाजवादी पार्टी (जसपा) नेता राजकिशोर यादवले आफू पार्टी छाड्ने पक्षमा नरहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “म जसपामै छु नि । पार्टीमा काम गर्दा विमति, असन्तुष्टि हुन्छ । अन्तरविरोध र अन्तरसंघर्ष हुन्छ । कुनै मुद्दामा केही कुरा मिल्छ, केही कुरा मिल्दैन । म जसपामै छु । जसपा हामीले नै बनाएको हो । बजार हल्लाको भरमा कहीं राजनीति हुन्छ र ?”
जसपा एक बनाउने कोसिस असफल भएको पनि उनले स्वीकारे । यादवले थपे, “हामीले मिलाउने कोसिस गरेको हो । सबै प्रयास सफल हुन्छ भन्ने छैन । अहिले नमिलेपछि आआफ्नो ढंगले अघि बढ्ने हो ।”
यादवले सरकाले जनअपेक्षा अनुसार काम गर्न नसकेकाले जनतामा निराशा र असन्तुष्टि बढेको पनि बताए । उनले भने, “हामी पनि सरकारकै घटक हो, मधेसमा पनि हाम्रै सरकार छ । तर पनि संघीय सरकारले प्रहरी समायोजन नगरेकाले प्रदेश सरकारको काम अवरुद्ध भएको छ । प्रदेश सरकार नै धर्नामा बस्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण हो । प्रदेशलाई अधिकार दिन हिचकिचाउने चरित्र केन्द्रिकृत मानसिकता हो ।”
अर्को प्रसंगमा उनले अहिले चुनावी गठबन्धनको विकल्प नभएको बताए । उनले भने, “गठबन्धन अस्थायी प्रकारको हुन्छ । त्यो चुनावसम्मका लागि हो । हामी यसकै पक्षमा छौं । मिलेर जाने प्रयास भइरहेको छ । अहिले अर्को विकल्प छैन ।”

लाखौं लाख नागरिक अनागरिक भएको संवेदनशीलता बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी चुकेको आरोप पनि यादवले लगाए । उनले भने, “दुइटै हाउसले पास गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गर्नु असंवेदनशीलताको परिणाम हो । उहाँ कोबाट कसरी प्रभावित हुनुभयो ? उहाँले संवैधानिक अधिकार दुरुपयोग गरेको देखियो ।”



प्रतिक्रिया दिनुहोस्