Logo

२०७४ को निर्वाचन र संसद्को आकारबाहेक सिट बाँडफाँटका लागि अरु मापदण्ड भरपर्दो छैनः देव गुरुङ



काठमाडौं, ३१ साउन । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले सत्ता गठबन्धनको मापदण्ड तयार भएपछि दुईचार दिनभित्रै सिट भागबन्डा हुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने, “मापदण्डको आधार बनाउने बारे छलफल चलिरहेको छ, टुंगो लागेको छैन । सिटका सन्दर्भमा छलफल सुरु भएको छैन । संयोजकका नाताले कृष्णप्रसाद सिटौलाले प्रस्ताव ल्याउनु होला । अनि त्यसमा दुईचार दिनभित्रै टुंगो लगाउन सकिएला ।”
नेता गुरुङले कांग्रेसलाई सय सिट दिन नसकिने पनि स्पष्ट पारे । उनले थपे, “मलाई यो ढंगले प्रस्ताव आउँछ भन्ने लाग्दैन । कुन मापदण्डका आधारमा सय सिट माग्ने ? स्थानीय तहको निर्वाचनको सन्दर्भमा वास्तविक डाटा नै छैन । कुनै ठाउँमा गठबन्धन छ, कतै छैन । त्यसैले एउटै मापदण्डमा जान सकिँदैन । कसैले हचुवाले सिट प्रस्ताव गर्न सक्दैन । कुन मापदण्डमा टेक्दाखेरि वैज्ञानिक र व्यवस्थित र परिणामुखी हुन्छ भनेर हेर्ने हो । २०७४ को निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभाको आकारमा टेकेर अघि बढ्नुपर्छ ।”
नागरिकता विधेयक संसद्मा फिर्ता गर्नु स्वाभाविक नभएको पनि उनले औंल्याए । गुरुङले भने, “अहिलेसम्म राष्ट्रपतिले सदनले पठाएका विधेयक फिर्ता गरेको उदाहरण छैन । संविधान मिच्यो भन्न नसके पनि स्वाभाविक स्थिति देखिँदैन । अब कसरी अघि बढ्ने भन्ने सम्बन्धमा दल, कार्यव्यवस्था र संसद्मा छलफल भएपछि यकिन होला ।”



प्रतिक्रिया दिनुहोस्