Logo

फोहोर व्यवस्थापनका लागि दबाब दिन बालुवाटारमा धर्ना (तस्वीर)



साउन ३१, काठमाडौं । स्वतन्त्र उम्मेदवारी अभियानका अभियान्ताहरुले काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरकारलाई दबाब दिन प्रधानमन्त्री निवास वालुवाटार पुगेर विरोध गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउने र प्रधानमन्त्री निवास बाहिर धर्ना दिन उनीहरु वालुवाटार पुगेका थिए । काठमाण्डौको फोहोर बन्चरेडाँडामा बिसर्जन गराउन खोज्दा काठमाण्डौ महानगरपालिकालाई अवरोध गरिएकोमा उनीहरुले आपत्ति जनाएका छन् । बन्चरेडाँडा क्षेत्रका राजनीतिक दलहरुले फोहोर फाल्न नदिने भनेर विज्ञप्ति नै जारी गरेपछि अभियान्ताहरु रुष्ट छन् ।

उनीहरुले दलहरुले फोहोर व्यवस्थापनमा राजनीति गरेको आरोप लगाएका छन् । वालुवाटार पुगेका स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले फोहोरमा भईरहेको राजनीति स्वतन्त्र उम्मेदवारहरुलाई पछाडी पार्न गरिएको षड्यन्त्र भएको टिप्पणी गरे । काठमाडौंमा वैकल्पिक शक्तिको बढ्दो आकर्षण देखेर यसलाई कम गराउन राजनीतिक दलहरुले फोहोरमा राजनीति गरेको उनको जिकिर छ ।

“चुनाव नजिकिदै छ, काठमाडौंमा जसरी स्वतन्त्र उम्मेदवारहरुको उदय भएको छ । त्यसलाई पछि पार्न गरिएको षड्यन्त्र हो । बालेनलाई फेल गराउन गरिएको दुश्प्रचार हो । राजनीतिलाई पेशा बनाएर बसेकाहरुले वैकल्पिक शक्ति उदायको देखेर यसलाई कम गर्नको लागि गरिएको राजनैतिक षड्यन्त्र हो ।” उनले भने ।

प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाउने भनिए पनि उनीहरुलाई समय मिलेन । ज्ञापनपत्र बुझ्नसमेत समय नभएको भनेर प्रधानमन्त्री कार्यालयबाट जवाफ आएपछि उनीहरु थप रुष्ट बनेका छन् । संयोजक साहुले प्रधानमन्त्रीले यसैगरी बेवास्ता गर्ने हो भने संसद भवन र प्रधानमन्त्री निवास अगाडी फाहोरको लगेर राख्ने चेतावनी दिए ।

साहुले थपे–“फुर्सद छैन भन्ने कुरा आएको छ, हाम्रो खास योजना भनेको ट्रकका ट्रक फोहोर संसद भवन र प्रधानमन्त्री निवासमा ल्याएर थुपार्ने हो । हामीले सल्लाहा गर्दा अहिलेलाई शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने योजना भएको हुनाले हामीले त्यो कार्यलाई थाति राखेका हौ । तर यसरी नै व्यवास्ता गर्ने हो भने आज राति नभए भोलि विहान फोहोरको थुप्रो लाग्न सक्ने छ ।”

यस्तै आन्दोलनमा सहभागि अर्का अभियान्त कोषराज सुबेदीले फोहोरमा राजनीति भएको कारण फोहोर उठ्न नसकेको बताए ।
सुवेदीले भने–“चुनावको मुखमा पार्टीले फोहोरसँग खेल्न खोजेको हो । यसका जिम्मेवार प्रधानमन्त्री भएको हुनाले हामी यहाँ ज्ञापन पत्र बुझाउन आएका हौँ ।”

उनले अहिले फोहोर व्यवस्थापन नगर्ने हो भने आउँदो चुनावमा जनताले राजनीतिक दलहरुलाई फोहोरसँग टिपेर फाल्ने दाबी पनि गरे ।

धर्ना बस्दा विभिन्न नारा लेखिएका प्लेकार्डहरु पनि प्रदर्शन गरेका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्