Logo

कांग्रेसको अभिमुखीकरण कार्यक्रमको औचित्य के ?



साउन ३१, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीबाट निर्वाचित हुने देशभरका पालिकाका प्रमुख र उपप्रमुखलाई अभिमुखीकरण प्रशिक्षण दिएको छ । साउन ३० र ३१ गते दुईदिन काठमाडौंमा दिईएको प्रशिक्षणले कार्यसम्पादनमा महत्वपूर्ण भूमिका खेल्ने जनप्रतिनिधिहरुको भनाई छ ।

प्रशिक्षणबाट सिकेका कुराहरुलाई आत्मसात् गर्ने भने स्थानीय तहहरुलाई परिचालन, कार्यान्वय तथा ऐनहरु निर्माणमा सहज हुने रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण बताउँछन् । त्यसैगरी स्थानीय तहमा कसरी समन्वय गर्ने भन्ने कुराहरुलाई सहज रुपमा कसरी अगाडी बढाउन सकिने उनको विश्वास छ । उनले स्थानीय तहको विकास, समाजलाई रुपान्तरण र समृद्धि, महिला सशक्तिकरण, यूवाहरुलाई रोजगारी, सुशासन लगाएतका विषयमा प्रशिक्षणबाट सिकेको बताए ।
“वास्तवमा हामीले आत्मसात् गर्यौ भने स्थानीय तहहरुलाई परिचालन गर्न, कार्यान्यवन गर्न । स्थानीय ऐनहरु सञ्चालन गर्नको लागि स्थानीय तहमा कसरी समन्वय गरेर अगाडी बढ्ने । स्थानीय तहहरुमा कुनै ठाउँमा एउटा दलको सरकार छ, कुनै ठाउँमा २ वटा दलको सरकार मिलेर चलाउनुपर्दछ । यसलाई समन्वय गरेर कसरी अगाडी बढाउन सकिन्छ । विकासलाई कसरी अगाडी बढाउन सकिन्छ । समाजलाई रुपान्तरण र समृद्धिलाई कसरी आत्मसात गर्न सकिन्छ । र महिला शसक्तिकरण, यूवाहरुलाई रोजगारी, सुशासन कसरी दिन सकिन्छ । पारदर्शिता कसरी दिन सकिन्छ । स्थानीय सरकारमा भन्ने कुरा हो । यो एकदमै समय सान्दर्भिक छ ।”

प्रशिक्षणमा पारदर्शिता, गतिशिलता, अनुशासनका बारेमा संवेदनशील भएर भाग लिएको रुपन्देहीको सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्रप्रसाद शर्मा बताउँछन् । यसबाट स्थानीय तहको विकास निर्माणमा, त्यहाँ जनतासँगका सरोकारका विषयहरुमा कर्तव्यनिष्ट भएर काम गर्ने थप होसला मिलेको उनले बताए ।
“प्रशिक्षण खासगरी पारदर्शिता, गतिशिलता, अनुशासनका बारेमा हामिले अत्यन्त संवेदनशील भएर प्रशिक्षणमा भाग लिएका छौं । यो प्रशिक्षण लिईसकेपछि स्थानीय तहको विकास निर्माणमा, त्यहाँ जनतासँगका सरोकारका कामहरुको लागि हामिले स्थानीयतहमा गएर कर्तव्यनिष्ट भएर त्यो कामहरु गर्ने छौं ।”

जिल्ला समन्वय समिति दार्चुलाको प्रमुख महादेव बडू (कश्यप)ले निर्वाचनपछि नयाँ जनप्रतिनिधि आउने र उनीहरुलाई सामान्य अभिमुखीकरण कार्यक्रमको आवश्यक हुने बताए । प्रशिक्षणले पार्टीसँग पनि सम्पर्क बनाउने र आफ्नो कार्यकालमा गर्नुपर्ने कामकारबाहीहरुको बारेमा पनि ज्ञान प्राप्त हुने धारणा राखे ।
“निर्वाचिनपछि नयाँ जनप्रतिनिधि आउँछन् । उनीहरुलाई सामान्य अभिमुखीकरण कार्यक्रम दिनु आवश्यक हुन्छ । पार्टीले आयोजना गरेको, पार्टी सँग पनि एउटा सम्पर्क बनाउने उद्धेश्यले प्रशिक्षण गरिएको हो र यसमा स्थानीय तहका प्रमुख–उपप्रमुखहरुलाई फोकस गरिएको छ । आवश्यक नै थियो । आफ्नो कार्यकालमा गर्नुपर्ने कामकारबाहीहरु पार्टीगत रुपमा पनि एउटा सुझाव हुन्छ । त्यसैले प्रशिक्षण उपलब्धि मुलक हुन्छ जस्तो मलाई लाग्छ ।”

प्रशिक्षणले आफ्नो पार्टीलाई पनि माथि उठाउने र जनप्रतिनिधि भएर काम, कर्तव्यहरुको बारेमा पनि प्रशिक्षण पाएको नुवाकोटको म्यागङ गाउँपालिकाको उपाध्यक्ष सिता तामाङले बताईन् । उनले योजना तर्जुमा कसरी गर्ने, प्राकृतिक स्रोतलाई कसरी व्यवस्थापन गर्ने, पालिकाका प्राकृतिक स्रोतहरु कसरी पहिचान गर्ने र बढी भन्दाबढी त्यसबाट स्रोत जुटाएर आफ्नो पालिकाको विकास गर्ने भन्ने बारेमा पनि प्रशिक्षकले प्रष्ट पारेको धारणा राखिन् ।
“प्रशिक्षण कार्यक्रम हामि भर्खर नयाँ आको जनप्रतिनिधिहरु, हामिले आफ्नो पार्टीको तर्फबाट जितेका हामि । र, पार्टीलाई पनि माथि उठाउनको लागि के गर्नुपर्दछ र जनप्रतिनिधि भएर काम, कर्तव्यहरु के के हो । भन्नेबारे प्रशिक्षण दिँदै हुनुहुन्छ । जनप्रतिनिधिहरुको आफ्नो अधिकारहरु के के हो । योजना तर्जुमा कसरी गर्ने, प्राकृतिक स्रोतलाई कसरी व्यवस्थापन गर्ने, आफ्नो पालिकाका प्राकृतिक स्रोतहरु पहिचान गर्ने, त्यसबाट कसरी फाइदा लिन सक्ने र बढी भन्दाबढी त्यसबाट स्रोत जुटाएर आफ्नो पालिकाको विकास गर्ने भन्ने बारेमा पनि प्रशिक्षक ज्यू हरुले प्रष्ट पारिसक्नुभएको छ ।”

कांग्रेसले पार्टीबाट निर्वाचित देशभरका स्थानीयतहका प्रमुसख, उपप्रमुखहरुलाई राखेर जनप्रतिनिधिहरुको काम, कर्तव्य, दायित्व, नियमकानून, कसरी बजेट बनाउने र जनताको कसरी सेवा गर्ने विषमा प्रशिक्षण दिएको कांग्रेस सहमहामन्त्री महेन्द्र यादबले बताए ।
“नेपाली कांग्रेसले देशभरका स्थानीयतहका प्रमुख, उपप्रमुखहरुलाई राखेर स्वागत, सम्मान र अभिमुखीकरण कार्यक्रम गरिरहेको छ । यसले देशभर पार्टीबाट जितेका जनप्रतिनिधिहरुको काम, कर्तव्य, दायित्व, नियमकानून, कसरी बजेट बनाउने, जनताको कसरी सेवा गर्ने विषमा । पार्टी सभापतिले पनि जनतालाई बिचमा राखेर काम गर्न सुझाव दिनु भएको छ ।”

अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ३४ जना, उपप्रमुख २३ जना, नगरपालिकाका प्रमुख १ सय ४१ जना, उपप्रमुख १ सय १० जना, गाउँपालिकाका अध्यक्ष १ सय ८८ जना र उपाध्यक्ष १ सय ९० जना सहभागी हुने रहेको कांग्रेसले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्